दोलखामा बरामद गरिएको ११ किलो सुन प्रकरणमा थप एक जना महिला पक्राउ


काठमाडौं । दोलखामा बरामद गरिएको ११ किलो सुन प्रकरणमा प्रहरीले थप एक जना महिलालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार काठमाडौँबाट महिमा माझीलाई पक्राउ गरेको हो ।

सोमबार पक्राउ परेकी महिलालाई मङ्गलवार थप अनुसन्धानका लागि दोलखा पठाइएको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । ‘दोलखा जिल्ला प्रहरी कार्यालयले उक्त महिलालाई पक्राउ गर्न पत्राचार गरेको थियो, त्यसैले पक्राउ गरेका हौँ,’ उनले भने, ‘उनको भूमिकाबारे हामीलाई थाहा छैन ।’

बैङ्किङ कारोबारमा उनको संलग्नता देखिएपछि पक्राउ गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए । उनीसँगै यस प्रकरणमा १४ जना पक्राउ परिसकेको उनले बताए । गत असोजमा बिगु गाउँपालिका–१ बाट प्रहरीले ११ किलो सुन बरामद गरेको थियो । फलेक नाकाबाट भित्रिएको सुन आलुको बोरामा राखेर काठमाडौं ल्याइने गर्थ्यो । असोज १० गते दोलखामा सुनबारे हल्ला भएपछि प्रहरीले यसमा संलग्नहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्