ज्यान गुमाउनेको संख्या १५४ पुग्यो : जाजरकोट भूकम्प


जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर गए राति (शनिवार) गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५४ पुगेको छ । हालसम्म प्राप्त तथ्याङ्क अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ६२ जनाको मृत्यु भएको छ । घाइतेको संख्या डेढ सया माथि पुगिसकेको छ ।

भूकम्पमा परी गम्भीर घाइते भएका रुकुम पश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । रुकुमपश्चिको आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले भूकम्पमा परी आफ्नो नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको जानकारी दिइन् । यस्तै आठबीसकोटमा ६० जना घाइते भएका छन् ।

तीमध्ये गम्भीर तीन जनालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । उपप्रमुख धनकुमारीका अनुसार उद्धार र क्षतिको विवरण सङ्कलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने छ । अहिले भूकम्पबाट भएको क्षतिको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्पको केन्द्रबिन्दु जाजरकोट पुगेका छन् । उनले रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न निर्देशन समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्