प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मीसहित भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीसहित भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेका हुन ।

भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफै नेपाली सेनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रधानमन्त्री ‘प्रचण्ड’ प्रभावित क्षेत्र गएको आचार्यले जनाए । उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्व अर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा गएका छन् ।

मन्त्री बस्नेत जाजरकोट र शर्मा रुकुम पश्चिमबाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्री दाहालले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको जनाएका छन् ।

उनले घाइतेको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका जानकारी दिएका छन् । प्रधानमन्त्री दाहालले उद्धार एवं राहतमा जुट्न सबैमा अपिल समेत गरेका छन् । सो भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा दर्जनौँको मृत्यु र घाइते भएका छन् । भूकम्प प्रभावितको खोज उद्धारका लागि तीनवटै निकायका थप सुरक्षाकर्मी सुर्खेतलगायत छिमेकी जिल्लाबाट पनि सो क्षेत्रतर्फ प्रस्थान गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्