जाजरकोट भूकम्पमा परी नलगाडकी नगर उपप्रमुख सिंहसहित ज्यान गुमाउनेको संख्या १२१ पुग्यो


सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भएर गए रात गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुखसहित ज्यान गुमाउनेको संख्या १२१ पुगेको छ । प्रहरीका अनुसार जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म कम्तीमा एक सय २१ जनाले ज्यान गुमाएका छन् ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सदरमुकामस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा भूकम्प जाँदा भत्किएको संरचनाले लागेर उनको मृत्यु भएको हो । ०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी काँग्रेसबाट निर्वाचित भएकी थिइन् ।

जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको मृत्यु भएको छ । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार स्वास्थ्य शाखामा अहिले ३० जनाको शव छ भने पाँच जनाको शव रिम्नामा राखिएको छ । सबैभन्दा बढी क्षति वडा नम्बर १ र ३ भएको छ । भेरी करिडोर लगायतका सडकहरू अवरुद्ध भएका कारणले घाइतेको उद्धार गर्न समस्या भएको छ । आफूले पाएको प्रारम्भिक जानकारी अनुसार भेरी नगरपालिकामा मात्रै झन्डै एक सयभन्दा बढीले ज्यान गुमाएको हुन सक्ने नगर प्रमुख घर्तीले बताए ।

उनका अनुसार नगर क्षेत्रमा रहेका घरहरूमा अधिकांश भौतिक संरचनाहरूमा आंशिकदेखि पूर्ण क्षति पुगेको छ । यस्तै, जाजरकोटकै नगलगाड नगरपालिकामा उप प्रमुख सरिता सिंहसहित ५० जना बढीले ज्यान गुमाएका छन् ।

नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतका अनुसार हालसम्म ५० जना बढीले ज्यान गुमाएका छन् । वडा नम्बर एकमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । ३० देखि ३५ जना घाइते भएका छन् । ठाउँ ठाउँमा सडक अवरुद्ध भएको र टेलिफनले काम नगरेकाले उद्धारमा कठिनाइ भएको तथा घटनाको यकिन विवरण सङ्कलनमा समस्या भएको उनले बताए ।

यस्तै रुकुम पश्चिमा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ बढी घाइते भएका छन् । पछिल्लो अपडेट अनुसार ३६ जनाको मृत्यु भएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले जानकारी दिए । डिएसपी भट्टराईका अनुसार ८५ जना भन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले कारणले घर र गोठहरू भत्किएका छन् भने सडकहरू पनि अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्