ब्रिगेड ब्वाइज क्लबले चुम्यो ‘छैटौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ को उपाधि


बेलबारी । छैठौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि ललितपुरे टोली ब्रिगेड ब्वाइज क्लबले उचालेको छ । झापाको बिर्तामोड युनाइटेडलाई ट्राइबेकरमा ५–३ गोल अन्तरले पन्छाउँदै उपाधिमा ब्रिगेडले कब्जा जमाएको हो ।

ब्रिगेडले उपाधिसँगै ८ लाख नगद र ट्रफी प्राप्त गर्दा बिर्तामोडले ५ लाख र ट्रफी प्राप्त गरेको छ । विजेतालाई खेलकुद मन्त्री डिग बहादुर लिम्बुले पुरस्कार प्रदान गरेका हुन । निशान तामाङ ट्राइबेकरमा चुक्दा बिर्तामोड उपाधिबाट विमुख भएको हो ।

खेल सुरु भएको २ मिनेटमै बिर्तामोडका खेलाडी अभिषेक गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । ब्रिगेडका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउँदै उनले गोल गर्ने अवसर पाएका थिए । ३१ औँ मिनेटमा ब्रिगेड खेलमा फर्कियो । दीपेश आलेले गोल गर्दै बराबरीमा ल्याए ।

बिर्तामोडका डिफेन्स अघि बडेको अवस्थामा कसैको नजरमा नपरेका दीपेशले डि एरिया नजिकबाट प्रहार गरेको बलले जाली चुम्यो । दुवै टिमले निक्कै आक्रामक खेल खेले पनि थप गोल हुन नसक्दा खेल ट्राइबेकर तर्फ धकेलियो ।

ट्राइबेकरमा ब्रिगेडका रोशन राना, एन्जल महर्जन ,दीपेश आले, अनीश तामाङ र जय गुरुङले गोल गर्दा बिर्तामोडका योगेश गुरुङ, विशाल दर्जी र विक्रम लिम्बुले गोल गरे । विधागत तर्फ पनि ब्रिगेडले कब्जा जमायो ।

खेलको म्यान अफ द म्याच बिर्तामोडका अभिषेक गुरुङ घोषित भए । उत्कृष्ट खेलाडीमा ब्रिगेडका जय गुरुङ, उत्कृष्ट गोल किपर विशाल सुनार र डिफेन्स पदम भट्टराई र हाइ स्कोरर दीपेश आले पुरस्कृत हुँदा उत्कृष्ट फरवार्ड बिर्तामोडका आशिष चापागाईँ घोषित भए ।

उदयमान खेलाडी आयोजकका दुर्गा राई घोषित भए । कोशी प्रदेशमा नियमित हुने बेलबारी गोल्डकपमा नेपाल र भारतका ८ टोली सहभागी थिए । बेलबारी नगरपालिका वडा नं.११ स्थित लक्ष्मीमार्गको लक्ष्मी खेलमैदानमा असोज २६ बाट गोल्डकप सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्