कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाए : पक्ष ८६, विपक्षमा ५ मत


मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । आज (बुधवार) बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभाध्यक्ष सिर्जना दनुवारले घोषणा गरेकी हुन् ।

विश्वासको मतको प्रस्तावका पक्षमा ८६ मत परेको छ । ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । उनको विपक्षमा ५ मत परेको छ । बुधवार बसेको प्रदेशसभा बैठकमा कार्कीले निर्वाचन प्रक्रियामार्फत एमालेसहित गठबन्धनका चारै दलको जम्मा ८६ मत पाएका हुन् । राप्रपाका ६ सांसद मध्य एक जना अनुपस्थित हुँदा पाँच मत विपक्षमा पर्‍यो ।

एमालेको समर्थनमा काङ्ग्रेसबाट ८ सांसद विद्रोह गराई कार्कीले बिहीबार ४७ सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यहरूको सनाखत गराएर मात्रै मुख्यमन्त्री नियुक्त गरेका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्