भारतीय भूपू सैनिक संघको १२ औँ र गेन्थुगे सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न


बेलबारी । भारतीय भूतपूर्व सैनिक एवम् कर्मचारी संघ नेपालको १२ औँ वार्षिक साधारण सभा तथा गेन्थुगे बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेलबारीको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । दुवै संस्थाको संयुक्त रूपमा गेन्थुगे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेश लिम्बुको अध्यक्षतामा साधारण सभा बेलबारी वडा नं.१ स्थित तमु बुद्धिष्ट गुम्बामा सोमबार सम्पन्न भएको हो ।

साधारण सभालाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापाले भारतीय भूत पूर्व सैनिकहरूको अवकाश पछिको सामाजिक दायित्वप्रतिको सक्रिय जिम्मेवारी र सृजनशिल्ताको प्रशंसा गरेकी थिइन । नगरपालिकाले भारतीय भूत पूर्व सैनिकहरूको संस्था विकासको निम्ति सक्ने सहयोग सधैँ गर्ने बताइन । बजारमा रहेको कयौँ सहकारी संस्थाहरू सहकारी ऐन विपरीत सञ्चालन भएकै कारण डुबिरहेको र सेयर सदस्यहरू पीडित भइरहेको अवस्थामा भारतीय भूत पूर्व सैनिकहरूद्वारा सञ्चालित गेन्थुगे बचत तथा ऋण सहकारी संस्था आर्मीहरूमा हुने निष्ठा, इमानदारिता, सक्रियताको कारण कुनै दुर्घटना नहुने र आर्थिक विकासमा समेत टेवा पुराउनेमा आशा व्यक्त गरिन ।

बेलबारी वडा नं.३ का वडा अध्यक्ष योगेन्द्र सुवेदीले पनि अन्य सहकारी संस्थाको अवस्थालाई निहालेर सतर्क हुन र सुरक्षित रहनु आग्रह गरेका छन् । सेयर सदस्यले पनि लाभङ्मा मात्र नभएर, संस्थाले कस्तो र के के कार्यक्रमहरू ल्याएको छ त्यसमा बढी ध्यान दिन सुझाव दिएका छन् । सञ्चालकसँगै सेयर सदस्य पनि सतर्क भए मात्र सहकारी संस्थाको विकास र सुरक्षा सुनिश्चित हुने सुवेदीले बताए ।

 

कार्यक्रममा भारतीय भूतपूर्व सैनिक एवम् कर्मचारी संघ नेपालको प्रगति साथै आर्थिक प्रतिवेदन अध्यक्ष ललित बहादुर बस्नेतले प्रस्तुत गरेका थिए । गेन्थुगे बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेलबारीको आर्थिक प्रतिवेदन कोषाध्यक्ष शेर बहादुर राईले प्रस्तुत गरेका थिए । तर राईले ४ महिनाको मात्र आर्थिक कारोबारको प्रतिवेदन प्रस्तुत गरे । बाकी आर्थिक र प्रगति प्रतिवेदन अध्यक्ष राजेश लिम्बुले प्रस्तुत गरे ।

संस्थाको आर्थिक अडिट गर्दा उनको उपस्थिति बिना कुनै खबरै नगरीकन तयार गरेको हुँदा पूर्ण वार्षिक प्रतिवेदन प्रस्तुत गर्न असमर्थ रहेको सभामा राईले जानकारी गराए । आय व्यय तथा आर्थिक कारोबार संस्थाका केही नेतृत्वबाट हस्तक्षेप भएकोले उनले अडिटमा हस्ताक्षर पनि गर्न असमर्थ रहेको बताए ।

राईका अनुसार संस्थामा कोषाध्यक्षको पद रिक्त भए पछि १० औँ साधारण सभाद्वारा चयन भएका हुन । पूर्व कोषाध्यक्ष गणेश लिम्बु पनि एक वर्ष नपुग्दै आफ्नो कार्यकाल पुरा नगरी सञ्चालक समितिबाट टाढिएका थिए । सेयर सदस्यले सेयर रकम फिर्ता लिँदा करिब १० प्रतिशतसम्म विगतमा कटौती भएको राईले बताए । सहकारी ऐन र संस्थाको विधान विपरीत कुनै पनि कार्य स्वीकार्य नहुने राईले सभामा बताए ।

 

उनले राजीनामा दिइसकेका छन् । तर राजीनामा दिन अघि सभामा सहकारी संस्थाभित्र सुधारको पक्षमा ध्यान दिन सञ्चालक समितिलाई आग्रह गर्दै नगरपालिका कार्यालयलाई पनि अनुगमन तथा निरीक्षणको लागि आग्रह गरे । कानुन र नियम विपरीत कुनै पनि कार्य नगर्न राईले आग्रह गरेका छन् । त्यसो भए भारतीय भूतपूर्व सैनिक बिच एकता र आर्थिक विकास भन्दा विनाश निम्त्याउन सक्ने राईले बताए ।

कार्यक्रममा भारतीय भूतपूर्व सैनिक एवम् कर्मचारी संघका संस्थापक अध्यक्ष बलबहादुर खरेल, सल्लाकार भूपी कोयु, लगायतले भारतीय भूतपूर्व सैनिकहरूको एकता र विकासमा जोड दिन आग्रह गर्दै शुभकामना प्रदान गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य केदारबहादुर पाण्डेले दिएका थिए भने उद्घोषण गेन्थुगे बचत तथा ऋण सहकारी संस्थाका सचिव महेश रिमालले गरेका थिए ।

सोही दिन भारतीय भूतपूर्व सैनिक एवम् कर्मचारी संघको नयाँ समिति गठन भएको छ । अध्यक्षमा ईश्वर श्रेष्ठ, उपाध्यक्षमा राम कुमार लिम्बु, कर्ण बहादुर गुरुङ, सचिवमा शिव कुमार राई, सहसचिवमा सेरबहादुर राई, कोषाध्यक्षमा दिलबहादुर तामाङ, सदस्यहरूमा खेम बहादुर लिम्बु, हेमकर्ण प्रसाद लिम्बु, नवीन कुमार राई, बगैन्द्र राई, राजनशोर राई, धन कुमार राई, चतुरमान राई, जयप्रकाश राई, अबिराम लिम्बु, संगिता राई, सूर्य बहादुर तामाङ, कुल बहादुर लिम्बु, गोविन्द प्रसाद देवान र सुवास लिम्बु निर्वाचित भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्