सर्लाहीमा एक युवती आफ्नै सौताले बीभत्स हत्या

झोलामा हालेर फाल्न लैजाँदै शव बरामद


सर्लाही, २८ कार्तिक । सर्लाहीमा एक युवती आफ्नै सौताले बीभत्स हत्या गरिएको छ । सर्लाही चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी शेख बलालकी २२ वर्षीय खुर्सिदा खातुनको हत्या भएको हो ।

शेखको ३५ वर्षीय जेठी श्रीमती कोरैसा खातुनले सौता खुर्सिदा खातुनलाई धारिलो हतियार प्रहार गरी बीभत्स हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार, पराल काट्ने फलामको गरास (धारिलो हतियार) ले हानेर हत्या गरी शव झोलामा हालेर फाल्न लैजाँदै गरेको अवस्थामा मृतक खुर्सिदाको शव बरामद भएको हो ।

शेख विदेश गएको मौका छोपी जेठीले घरमा कोही नभएको अवस्थामा खुर्सिदाको हत्या गरेको उपरीक्षक भट्टराईले बताए । उपरीक्षक भट्टराईका अनुसार खुर्सिदाको शव हेर्दा घाँटी, टाउको, छाती र हातमा काटिएको छ । कोरैसाले खुर्सिदाको बीभत्स तरिकाले हत्या गरेको देखिन्छ, उनले भने ।

जेठीको सन्तान नभएपछि श्रीमान् बलालले तीन महिना पहिले मात्र खुर्सिदासँग बिहे गरेर शेख विदेश गएको तीन दिन मात्र भएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिएका छन् ।

हत्या गरेर बोरामा हाली घर नजिकै फालेको अवस्थामा खुर्सिदाको शव बरामद भएको छ भने हतियार लुकाएर राखिएको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खुर्सिदाको हत्यामा संलग्न कोरैसालाई जिल्ला प्रहरी कार्यालय मलङ्गवार नै हिरासतमा राखेको छ । हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्