बेलबारी । बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा नेपाली काँग्रेसका किशोर कुमार कार्की निर्वाचित भएका छन् । संस्थाको आइतबार सम्पन्न पाँचौँ निर्वाचनबाट कार्की अध्यक्षमा निर्वाचित भएका हुन ।
नेपाली काँग्रेसको तर्फबाट नेतृत्व गर्दै कार्कीले ४ दल गठबन्धनका अध्यक्षका साझा उम्मेदवार नेकपा एमालेका दुर्गाप्रसाद गौतमलाई १ सय १३ मतान्तरले पराजित गरेका हुन । कुल २२७५ मतमा कार्कीलाई ८३३ मत प्राप्त हुँदा गौतमले ७२० मत प्राप्त गरेका छन् ।
कार्की समूहबाट उपाध्यक्षमा प्रगति मोक्तान गौतम समूहका मदन राईलाई ७१ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् । मोक्तानलाई ७२१ र राईलाई ६५० मत खसेको छ । सचिवमा तिन जना उम्मेदवार बिच प्रतिस्पर्धा भएको थियो । ३ मध्य गौतम समूहका उम्मेदवार नेकपा माओवादीका मनकुमार गुरुङ सचिवमा निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सपना काफ्लेलाई १ सय ३६ मतान्तरले पराजित गर्दै गुरुङ सचिव पदमा निर्वाचित भएका हुन । गुरुङलाई ६१० मत, काफ्लेलाई ४७४ र स्वतन्त्र उम्मेदवार थानेश्वोर नेपाललाई ३२७ मत खसेको छ ।
कोषाध्यक्षमा रिक्त गुरुङ निर्वाचित भएका छन् । नेकपा एमालेका बिन्दुकला गुरुङलाई १५६ मतान्तरले पराजित गर्दै रिक्त कोषाध्यक्षमा निर्वाचित भएका हुन । रिक्तलाई ७८३ र बिन्दुकलालाई ६२७ मत खसेको छ ।
खुल्ला सदस्यमा कार्की समूहका चन्द्रजंग बस्नेत, पुष्कल सुबेदी, राजेश शाह निर्वाचित भएका छन् भने महिला सदस्यमा जानुका विश्वकर्मा र विष्णु दाहाल निर्वाचित भएकी छन् । लेखा समितिको संयोजकमा दीपेन्द्र लामिछाने, सदस्यमा सावित्रीकुमारी धिमाल र कोपिला तामाङ निर्वाचित भएका छन् । तामाङ र धिमाल गौतम समूहकी हुन । कुल मतको ७२.८३ प्रतिशत मत खसेको थियो ।