महराका छोरा राहुलसहित चार जनाविरुद्ध नौ किलो सुन तस्करी प्रकरणमा मुद्दा दायर


काठमाडौं । सरकारी वकिलले विद्युतीय चुरोट (भेप) मार्फत नौ किलो सुन तस्करी प्रकरणमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालयले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनाविरुद्ध मङ्गलवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

महरासहित सर्लाही घर भई काठमाडौँको नागार्जुन नगरपालिका–४ सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल, बेल्जियमका नागरिक ३९ वर्षीय दावा छिरिङ र काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धका ५७ वर्षीय निमा गुरूङविरूद्ध मुद्दा दायर भएको हो । ती जना प्रहरी हिरासतमा छन् भने निमा फरार छन् ।

उनीहरुविरुद्ध तीन वटा (आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराध सम्बन्धी) कसुरमा मुद्दा दायर गरिएको सरकारी वकिलले जनाएको छ । १० पुसमा फ्लाइ दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको ७३० वटा भेपभित्र नौ किलो सुन बरामद भएको थियो ।

यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व सभामुख कृष्णबहादुर महराको बयान पनि लिएको थियो । तर, सीआईबीले पूर्व सभामुख महरालाई भने प्रतिवादी नबनाई सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्