बेलबारीको खानेपानी संस्थाको निर्वाचनमा गौतम र कार्की भिड्दै : बोल्न निषेध, काँग्रेसको फरक रणनीति


बेलबारी । बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पाँचौँ निर्वाचन तथा वार्षिक साधारण सभा यही २७ गते शनिवार हुँदै छ । उम्मेदवारी घोषणसँगै अहिले उम्मेदवारहरू चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त भइसकेका छन् ।

यस निर्वाचनमा नेपाली काँग्रेस र ४ दलको गठबन्धन नेतृत्व उम्मेदवार बिच चुनावी प्रतिस्पर्धा हुँदै छ । अध्यक्ष पदमा नेकपा एमालेका दुर्गा प्रसाद गौतम र नेपाली काँग्रेसका किशोर कुमार कार्की बिच प्रमुख प्रतिस्पर्धा रहेको छ ।

गौतमको नेतृत्वमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रहेका छन् । ४ दलको साझा उम्मेदवार भएकैले पनि गौतम, किशोर भन्दा उत्साहित र बलियो देखिन्छन् ।

( साझा उम्मेदवारहरूका प्रतिबद्धताहरू )

गौतम नेतृत्व साझा उम्मेदवारहरूले औपचारिक रूपमा पत्रकार सम्मेलन गरेर चुनावी प्रतिबद्धताहरू सार्वजनिक गरिसकेका छन् र घरदैलो अभियानमा भोट अपिल गर्दै हिँडिरहेका छन् । विद्युतीय माध्यम सामाजिक सञ्जाल मार्फत साथै प्रत्यक्ष रूपमा उपभोक्ताहरूसँगै भेटेर भोट माग्दै छैन । तर नेपाली काँग्रेसको भने एमालेको चुनावी प्रचारप्रसार रणनीति भन्दा फरक देखिएको छ ।

नेपाली काँग्रेसका उम्मेदवारहरूका अनुसार घरदैलो अभियान सकिन लागेको छ । घरदैलो कार्यक्रम सम्पन्न पछि मात्र पत्रकार सम्मेलन गरी औपचारिक रूपमा प्रतिबद्धताहरू सार्वजनिक गर्ने तयारी रहेको छ । सामाजिक सञ्जालमा फोटोसहितको भोट अपिल तथा प्रतिबद्धता बाहेक भिडियो मार्फत उम्मेदवारहरूले २५ गते सम्म कुनै अभिव्यक्ति दिन निषेध गरिएको छ ।

( नेपाली काँग्रेसका उम्मेदवारहरूका प्रतिबद्धताहरू )

घरदैलो अभियानमा रहेका कार्कीले पार्टीको निर्देशन अनुसार २६ गते देखी मात्र सञ्चार माध्यममा प्रत्यक्ष बोल्न मिल्ने बताएका छन् । प्रमुख प्रतिस्पर्धीले चुनावी प्रचारप्रसारमा सबै माध्यहरू प्रयोग गरिरहँदा नेपाली काँग्रेसले भने केही माध्यहरूमा उम्मेदवारलाई प्रत्यक्ष अभिव्यक्ति दिन निषेध नै गरेको छ । जस कारण उपभोक्ताहरुलाई भोट अपिल बाहेक उम्मेदवारको प्रस्ट धारण र क्षमतामा अन्योल हुने देखिन्छ ।

नेपाली काँग्रेसले निर्वाचनको एक दिन अगाडी असोज २६ गते मात्र पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । गौतम र किशोर दुवै नेतृत्व उम्मेदवारहरूको १७ बुँदे चुनावी प्रतिबद्धता मिल्दोजुल्दो रहेको छ । गौतम नेतृत्व साझा उम्मेदवारहरूबाट प्रतिबद्धता सार्वजनिक भए पछि नेपाली काँग्रेसले पनि सामाजिक सञ्जालमा सार्वजनिक गरिसकेको छ ।

गौतम नेतृत्वका उम्मेदवारहरू भन्दा कार्की नेतृत्वका उम्मेदवारहरू युवा रहेका छन् । बेलबारी ३ निवासी कार्की असल युवा व्यवसायीको रूपमा परिचित छन् भने बेलबारी २ निवासी गौतम शिक्षक तथा बौद्धिक व्यक्तित्वको रूपमा परिचित छन् । गौतम बेलबारी २ स्थित श्री कबिर माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक हुन् । गौतमको ३५ वर्षे लामो प्रधानाध्यापकको अनुभव रहेको छ ।

गौतम नेतृत्वको उपाध्यक्ष पदमा मदन राई, सचिवमा मनकुमार गुरुङ, कोषाध्यक्षमा विन्दुकला गुरुङ, सदस्यमा सम्शेर गिरी, सजिना बराइली, लक्ष्मी दुलाल, खड्गकला गिरी, प्रतापसिंह राणा लेखा समिति संयोजकमा जगत बहादुरी क्षेत्री, सदस्यमा कोपिला तामाङ र सावित्री धिमालको उम्मेदवारी रहेको छ । त्यस्तै नेपाली काँग्रेसको कार्की नेतृत्वको उपाध्यक्षमा प्रगति मोक्तान, सचिवमा सपना काफ्ले, कोषाध्यक्षमा रिक्त बहादुर गुरुङ, सदस्यमा चन्द्रजंग बस्नेत, पुष्कल सुवेदी, राजेश शाह, जानुका विश्वकर्मा, विष्णु दाहाल, लेखा समिति संयोजकमा दीपेन्द्र लामिछाने, नेत्र कुमारी ढकाल र जीवन बस्नेत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्