सुन्दरहरैँचामा इटहरी इन्टरनेशनल कलेजको आयोजनामा आइ.आइ.सी इनोभेक्स २०२३ हुँदै


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा रहेको इटहरी इन्टरनेशनल कलेजले आइ.आइ.सी इनोभेक्स २०२३ गर्ने भएको छ । शनिवार पत्रकार सम्मेलन गरेर आइ.आइ.सी इनोभेक्स २०२३ असोज २५ र २६ गते हुने कलेजले जानकारी दिएको हो ।

आइ.आइ.सी इनोभेक्स २०२३ को आयोजना इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरूले गरेका हुन । आइ.आइ.सी इनोभेक्स इन्टर कलेज विजिनेस इभेन्ट पूर्वमा पहिलो पटक हुन सक्ने कलेजको दाबी रहेको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई ५ विषयमा समूहगत रूपमा अभ्यास गराउने कलेजले जनाएको । कलेजका अनुसार वित्तीय शास्त्र, बजार शास्त्र, कानुन र व्यवस्थापन शास्त्रसँग सम्बन्धित अभ्यास गराइने छ । अभ्यासमा उत्कृष्ट विद्यार्थीको समूहलाई पुरस्कार पनि प्रदान गर्ने कलेजले जनाएको छ ।

इटहरी इन्टरनेशनलका विद्यार्थीद्वारा पूर्वमा पहिलो पटक आइ.आइ.सी इनोभेक्सको आयोजना गर्न सक्नु कलेजको पनि सफलता भएको कलेजका सि.इ.व सत्यबर्त कोइराला बताउँछन् । नवीनता, रचनात्मकता, उद्यमशीलतासँगै, समूहमा कसरी काम गर्ने, समयको व्यवस्थापनको अभ्यास लगायतका महत्त्वपूर्ण विषयमा अभ्यास गराएर देशमै भविष्य देख्न सक्ने सक्षम नागरिक बनाउने उद्देश्य रहेको कोइरालाले बताए । यस स्तरको तथा प्रकृतिको कार्यक्रममा सहभागी हुने वा प्रतिस्पर्धा गर्ने काठमाडौँ केन्द्रित हुने संस्कारलाई तोड्दै देशकै विभिन्न जिल्लाबाट २० वटा कलेजबाट प्रतिनिधि हुने गरी पूर्वमै आइ.आइ.सी इनोभेक्स २०२३ को आयोजना गरेको कोइराला बताउँछन् ।

सहभागी विद्यार्थी म्यानेजमेन्ट सङ्कायका स्नातक तहका हुने कार्यक्रमका सल्लाहकार विकास वनले जनाएका छन् । दर्ता शुल्क रु.५ हजार लाग्ने वनले बताए । वनका अनुसार एक कलेजबाट ५ जना मात्र सहभागी हुने छन् । कोशी प्रदेशबाट ११ वटा, मधेस प्रदेशबाट १, बागमती प्रदेश बाट ७ वटा, गण्डकी प्रदेशबाट १ वटा गरी २० वटा कलेजको सहभागिता हुने वनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्