काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अज्ञात समूहले कालो मोसो दलेका छन् । काठमाडौँको जमलस्थित एक होटेलमा सोमबार दिउँसो प्रसाईँमाथि एक समूहले मोसो दलेका हुन् ।
प्रसाईँले उक्त होटेलमा पत्रकार सम्मेलन राखेका थिए । पत्रकार सम्मेलन सकेर होटेल बाहिर निस्केका प्रसाईँमाथि मोसो दलिएको हो । सार्वजनिक एक भिडियोमा उनीमाथि मोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालो मोसो दल्ने भनेर धम्की दिँदै आएका थिए । प्रसाईँले बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरूलाई मोसो दल्ने भन्दै मोसो दल्ने कालो मोसो दस्ता नै बनाएका थिए । गत फागुन १३ गते चितवनमा कालो मोसो दस्ताको केन्द्रीय संयोजकको रूपमा शम्भु थापालाई घोषणा गरेका थिए ।