मिलन के राउत – उर्लाबारी । सरकारले ल्याउन लागेको सङ्घीय निजामती ऐनमा आफूहरूलाई विभेद गरेको भन्दै स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । उर्लाबारी नगरपालिकामा कार्यरत कर्मचारीले पनि शुक्रवार विरोध स्वरूप ‘पेन डाउन’ गरेका छन् ।
शुक्रवार ‘पेन डाउन’ गरी नगरपालिकामा कार्यरत कर्मचारीहरूले मेयर गङ्गाप्रसाद खरेललाई ज्ञापन पत्र बुझाएका छन् । अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू बन्द गरी अनिश्चितकालिन पेन डाउन गरिएको स्थानीय तह सङ्घर्ष समिति उर्लाबारी नगरपालिकाका तर्फबाट योजना शाखा प्रमुख विकाश दाहालले बताउनुभयो । संघीय निजामती विधेयकमा स्थानीय सेवामा काम गर्नेलाई कर्मचारी नै स्वीकार नगरिएकाले आन्दोलन गर्नुपरेको दाहालको भनाइ छ ।
स्थानीय सेवामा कार्यरत कर्मचारीलाई समेटेर एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीको सेवाको सुरक्षा हुनु पर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग कर्मचारीले राखेका छन् । त्यस्तै, कर्मचारी कल्याण कोषको व्यवस्था हुनुपर्ने, स्थानीय कर्मचारीलाई ट्रेड युनियनको अधिकार दिनुपर्ने, अन्तर प्रदेश सरुवा लागू गर्नुपर्ने लगायतका कर्मचारीको माग छ । आफूहरूको माग यथाशीघ्र सम्बोधन नभए थप संघर्षका कार्यक्रम गर्दै जाने नगरपालिकाका योजना शाखा प्रमुख विकास दाहालले जानकारी दिए ।
केन्द्रीय स्तरकै संघर्षको कार्यक्रम भएकाले स्थानीय सरकार प्रमुखलाई ध्यानाकर्षण गराइएको दाहालको भनाई छ । कर्मचारीहरूले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलालाई पनि ज्ञापन पत्र बुझाएका थिए ।