मोरङ । नेकपा (एमाले) को प्रथम ऐतिहासिक कोशी प्रदेशको अधिवेशनबाट कलाकार तथा संस्कृतिकर्मी जे.बी थुलुङ सदस्य पदमा निर्वाचित भएका छन् । यही असोज १२ गतेदेखि विराटनगरमा जारी पार्टीको प्रथम अधिवेशनमा समावेशी जनजाति खुल्ला सदस्यमा ३७७ मतसहित थुलुङ निर्वाचित भएका हुन ।
तिसौँ वर्षदेखि सांस्कृतिक क्षेत्रमा क्रियाशील मोरङ बेलबारी निवासी थुलुङ गीत, गजल लेखन, सङ्गीत निर्माण तथा राजनीतिक सामाजिक काममा निरन्तर छन् । उनी साहित्य र गीत सङ्गीतको क्षेत्रमा प्रदेश तथा केन्द्र सरकारबाट सम्मानित र पुरस्कृत भइसकेका छन् ।
विद्यार्थी राजनीतिमा रहेर वि.स २०६० सालमा मोरङको सुकुना बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसमेत भइसकेका थुलुङ, एमालेको सांस्कृतिक सङ्गठन राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपालको केन्द्रीय सचिवालय सदस्य तथा कोशी प्रदेशका अध्यक्ष हुन । मुलुकमा संघीयता कार्यान्वयन पछि राष्ट्रका सबै पार्टी र सङ्गठनहरूमध्ये पहिलो पटक राष्ट्रिय जनसांस्कृतिक महासङ्घको प्रदेश अधिवेशन गरी थुलुङ २०७८ फागुनमा अध्यक्ष भएका हुन् ।
अधिवेशनमा मोरङ लेटाङका घनश्याम खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीहरू सबै खतिवडा प्यानलमा छन् । उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ, सचिव पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाका जलवर्षा राजवंशी र खोटाङमा देवान राई निर्वाचित भएका छन् । जिल्ला भूगोल तर्फको मतगणना चलिरहेको छ ।