सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर बजारमा रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा एक बालक झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । नगरपालिका–६ घण्टाघर नजिक रहेको उक्त विद्यालयमा अध्ययनरत आठ वर्षीय बालक मृत भेटिएका हुन् ।
स्कुलमा मृत भेटिएका बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ वर्षीय सलाम पुलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।
उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए । उनी शुक्रवार साँझ होस्टेलको खाटमा झुन्डिएको अवस्थामा फेला परेका थिए । आफन्तहरूले घटना शङ्कास्पद रहेको भन्दै विद्यालय र होस्टेल तोडफोड गरेका छन् । कक्षा कोठा र होस्टेलमा रहेका सामानहरू बाहिर ल्याएर जलाइदिएका छन् । घटनास्थलमा प्रहरी तैनाथ गरिएको छ ।
मृतक बालकका आफन्तहरूले घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा गरेका हुन् । प्रहरीले सात राउन्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ । बालकको शव अहिलेसम्म उठाइएको छैन । आफन्तहरूले घटना शङ्कास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् । आफन्तहरू आक्रोशित आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।