दिलीप पोखरेल – उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नं. ३ मंगलबारे स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त अवसरमा सम्पन्न प्रतिष्ठानको कार्यसमिति सह-सचिव पदको निर्वाचनमा दमकका खोमप्रसाद बगाले थापा निर्वाचित भएका छन् ।
( खोमप्रसाद बगाले )
गत वैशाख १८ मा सम्पन्न प्रतिष्ठानको २१औँ चुनावी साधारण सभामा सह सचिव बाहेकका अन्य सम्पूर्ण पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएका थिए । सहसचिवमा दमकका थापा र उर्लाबारीका रुद्र बहादुर तामाङको उम्मेदवारी पर्दा सर्वसम्मत हुन नसकेपछि निर्वाचन समितिले आगामी साधारण सभामा निर्वाचन गर्ने जनाएको थियो ।
सोही कार्यपालिका बमोजिम आइतबार उक्त पदमा निर्वाचन गरिएको निर्वाचन समितिका संयोजक अधिवक्ता गणेशराज लुइँटेलले जानकारी दिए । जम्मा ३ सय ३५ सदर मतमध्ये थापाले १ सय ९५ मत प्राप्त गरे भने तामाङले १ सय ४० मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले नव निर्वाचित बगालेलाई आजै प्रमाण पत्र वितरण र पद तथा गोपनीयताको शपथ ग्रहण गराएको थियो । प्रतिष्ठानको संग्रहालय स्थित प्राङ्गणमा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले पानसमा बत्ती बालेर गरेका थिए ।
प्रा .डा. कोइरालाले आफ्नो मन्तव्य राख्ने क्रममा प्रतिष्ठानले नेपालमा प्राविधिक शिक्षाको जग हाल्ने काम गरेको बताउँदै उनले प्रतिष्ठानले गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गरी राज्यलाई प्राविधिकमय बनाउन योगदान पुर्याएको चर्चा गरे । उनले निकट भविष्यमै प्रतिष्ठानलाई थप शैक्षिक कार्यक्रमहरू सञ्चालनको लागी अनुमति दिने बताउँदै संस्थाको उन्नयन र सफलताको शुभकामना व्यक्त गरे ।
साधारणसभामा प्रतिष्ठानका सचिव अग्निप्रसाद भट्टराईले सचिवको प्रतिवेदन र नीति तथा कार्यक्रम, कोषाध्यक्ष होमबहादुर थापाले आर्थिक प्रतिवेदन तथा आ.व. २०८०/०८१ को बजेट प्रस्तुत र लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त अवसरमा प्रतिष्ठानले एक÷एक जना उत्कृष्ट उप प्राध्यापक, प्रशिक्षक र उत्कृष्ट कर्मचारी, ५ जना उत्कृष्ट विद्यार्थी र एक÷एक जना उत्कृष्ट ऋणी र सफल व्यावसायिक कृषि समूहलाई सम्मान समेत गरेको छ ।
संस्थाको उन्नयनमा पुर्याएको योगदान र कार्य सम्पादन मुल्याङ्कनको आधारमा स्कुल अफ नर्सिङ्की प्रिन्सिपल रञ्जना डाँगी, मदन भण्डारी कलेज अफ इन्जिनियरिङका उप प्राध्यापक इ. मनिष यादव र मुख्य कार्यालयकी प्रशासन उप सहायक पुष्पा भण्डारी पुरस्कृत भएका थिए। यस्तै उत्कृष्ट नतिजा हाँसिला गर्न सफल विद्यार्थीहरू क्रमशः सिवानी रञ्जितकार, सागर आचार्य, तिला हाङ्मा फ्याक, शरद मगर र सुजित घिसिङलाई सम्मान गरिएको थियो । त्यसै गरी लक्षित वर्ग शैक्षिक ऋण( उपहार) कार्यक्रमतर्फ उत्कृष्ट ऋणी दीपिका श्रेष्ठ र सफल व्यावसायिक कृषि समूहतर्फ जय श्रीराम एग्रो फर्म रङ्गेली पुरस्कृत भएका थिए ।
त्यस्तै उक्त अवसरमा प्रतिष्ठानको भिडियो प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरू क्रमशः टेवन कार्की, सिर्जन पौडेल र समीक्षा सिवाकोटी लगायत अन्य सहभागीहरूलाई समेत पुरस्कृत गरिएको थियो । उनीहरू सबैलाई प्रमुख अतिथि प्रा.डा. कोइरालाले नगद तथा सम्मान पत्रले पुरस्कृत गरेका थिए ।
१ सय ८८ जना आजीवन सदस्य रहेका उक्त प्रतिष्ठानमा जम्मा ८ सय १ जना सदस्य रहेका छन् । प्रतिष्ठानका कार्यसमिति अध्यक्ष रोमनाथ ओलीको अध्यक्षतामा सम्पन्न उक्त सभामा महिला उपाध्यक्ष सुमित्रा भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन कार्यसमिति सचिव अग्निप्रसाद भट्टराईले गरेका थिए ।