बेलबारीमा असोज २८ देखी छैठौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने


बेलबारी । मोरङको बेलबारीमा छैठौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने भएको छ । शुक्रवार डाँगीहाट फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना गरी छैठौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने जानकारी दिएको हो ।

बेलबारी वडा नं. ११ स्थित लक्ष्मी मार्गमा असोज २८ गते देखी कार्तिक ४ गतेसम्म गोल्डकप हुने आयोजकले जनाएको छ । क्लबका अध्यक्ष विक्रम बान्तवा राईका अनुसार प्रतियोगितामा विजेताले नगद रू.८ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले रु.५ लाख, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने हुने छ ।

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप मोरङ जिल्लाको सर्वाधिक पुरस्कार राशिको गोल्डकप भएको अध्यक्ष राईको दाबी रहेको छ । प्रतियोगितामा च्याम्पियन टोली चर्च ब्वाईज काठमाडौँ, बिग्रेड ब्वाईज क्लब काठमाडौँ, सहलेश युवा क्लब सिराहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डॉगीहाट यूथ क्लब, बिर्तामोड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर र युकेएफसी भारत गरी ८ वटा टिम सहभागी हुने क्लबका सचिव शम्भु बस्नेतले जनाएका छन् ।

गोल्डकपको खर्च ६२ लाख ९० हजार र ६९ लाख ४० हजार आम्दानी हुन सक्ने अनुमान रहेको क्लबका सचिव बस्नेतले बताए । उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट कोच र प्रत्येक दिन म्यान अफ दि म्याच प्रदान गरिने आयोजकले जनाएका छन् । पत्रकार सम्मेलनको सञ्चालन क्लबका प्रवक्ता तथा सञ्चार संयोजक नरेन्द्र बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्