सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी मुद्दाको काठमाडौं जिल्ला अदालतमा आज पेसी


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको फैसलाका लागि आज (सोमबार) का लागि पेसी तोकिएको छ । एक नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दाको अन्तिम सुनुवाइका लागि पटक–पटक पेसी तोकिए पनि टुङ्गो लाग्न सकेको छैन ।

यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवारको बसाइसराइ अभिलेख झिकाउन आदेश दिएको थियो । सो आदेशअनुसार सम्बन्धित स्थानीय तहले बसाइसराइ सम्बन्धी विवरण गत साता जिल्ला अदालतमा पेस गरेकाले आजका लागि पेसी तोकिएको हो । अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले सफाइ पाउने वा जेल जानुपर्ने फैसला हुनेछ ।

सन्दीपले एक १७ वर्षीय किशोरीलाई जब्बरजस्ती बलात्कार गरेको अभियोग छ । ती किशोरीले गौशालाको एक होटेलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोपसहित २०८९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

उक्त मुद्दामा यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भए । त्यसपछि सर्वोच्च अदालतले उनलाई विदेश जान लगाइएको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्