उर्लाबारीमा मेस्सी भान्सा घर सञ्चालनमा : डेढ सयमै मासुभात खान पाइने !


उर्लाबारी । महँगी र खर्चिलो बजारले नागरिकको दैनिकी सहज छैन । खास गरी डेरामा बस्ने विद्यार्थी, कर्मचारी मात्रै नभएर न्यून आय भएकाहरूको भान्सा ‘सकसपूर्ण’ छ । समयको पाबन्दीले खाना बनाउन नभ्याउनेहरूलाई मध्यनजर गर्दै उर्लाबारीमा सस्तो दरमै खाना पाइने होटेल सञ्चालनमा आएको छ ।

उर्लाबारी – ५ स्थित आमा मिलन केन्द्र संस्था अगाडीको घरमा ‘मेस्सी भान्सा घर’ होटेल सञ्चालनमा आएको हो । विगत लामो समयदेखि विभिन्न पेसा व्यवसायमा संलग्न रहँदै आएका उर्लाबारी – ५ कै विशाल लिम्बूले आफ्नो वर्षौँ देखिको चाहाना अनुसार उक्त भान्छा घर सुरु गरेका हुन् । ग्राहकलाई सस्तोमा खाना उपलब्ध गराउने उद्देश्यले होटेल सञ्चालनमा ल्याएको उनले बताए । यहाँ सय रुपैयाँमा सादा खाना (तरकारी, दाल, अचार, सलादसहित) एक सय ५० रुपैयाँमा चिकेन खाना सेट, १५० रुपैयाँमा पार्क खाना सेट र २५० रुपैयाँमा खसीको मासुसहित खाना खुवाइन्छ ।

खानाका अलावा चाउमिन, थुक्पा, मःम तथा नास्ताका अन्य परिकारसहित पेय पदार्थहरू अन्यत्रभन्दा सस्तो मूल्यमा उपलब्ध हुने मेस्सी खाजा घरको मेनुमा उल्लेख छ । सो भान्सा घरका सञ्चालक विशाल लिम्बू फुटबलका क्रेजी मात्रै नभएर विख्यात फुटबलर मेस्सीका ‘डाइहर्ट फ्यान’पनि हुन् । मेस्सी मोहकै कारण उनले होटेलको नाम मेस्सी जुराएका हुन् । उनले गैर नाफामूलक होटेल खोल्नुको कारण प्रस्ट्याउँदै भने –‘हाम्रो उद्देश्य पैसा कमाउने मात्र होइन । बजार भाउ बढेको बढ्यै छ । यस्तोमा एउटा सामान्य मान्छेले पनि सस्तोमा भर पेट खाना खान सकुन् भन्ने चाहना हो ।’

अल्लि फरक र स्वादिष्ट परिकार, परम्परागत नेपाली स्वास्थ्यकर खाना तथा खाजा पाक्ने भान्छाको रूपमा चिनारी पस्कने अठोट लिएको लिम्बूको भनाई छ । ग्राहकको अपेक्षा अनुरूप खाना खाजाको परिकार तयार पार्न दुई जना अनुभवी कुक खटिने गरेका छन् । दुई जना वेटर सेवामा तल्लीन छन् । होटेलमा खाना खाजा खाएका ग्राहकहरूबाट पाएको राम्रो प्रतिक्रिया आइरहेको सञ्चालक लिम्बूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्