राजनीतिकर्मी रुपेश खतिवडाद्वारा छात्रवृत्ति प्रदान


उर्लाबारी । राजनीतिकर्मी तथा सामाजिक व्यक्तित्व रुपेश खतिवडाले एक कार्यक्रमकाबीच जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका छन् । उर्लाबारी – ८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयमा शुक्रवार आयोजित बाल दिवस कार्यक्रममा खतिवडाले बाल कक्षादेखि ९ सम्मका १३ जना विद्यार्थीलाई एक सेटका दरले विद्यालय पोशाक र जनही ५ सय नगद छात्रवृत्ति वितरण गरेका हुन् ।

कक्षा प्रथम हुने विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको उनले जानकारी दिए । विगत ७ वर्षदेखि छात्रवृत्ति वितरण गर्दै आएका खतिवडा सोही विद्यालयका पूर्व विद्यार्थीसमेत हुन् । विद्यालयको सभाहलमा भएको कार्यक्रममा मन्तव्य राख्दै खतिवडाले सामुदायिक विद्यालयमा विद्यार्थीहरूको प्रोत्साहनका लागि प्रत्येक वर्ष आफूले छात्रवृत्ति प्रदान गर्दै आएको बताए । सामुदायिक विद्यालयमा सरकारले अझ बढी लगानी बढाउन आवश्यक रहेको बताउनुहुँदै उनले स्थानीय सरकार र अभिभावक मिलेर विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा लाग्नुपर्नेमा जोड दिए ।

यस्तै सोही अवसरमा पम्फामाया अक्षयकोष छात्रवृत्ति कक्षा ८ की छात्रा अप्सरा लिम्बू र कक्षा ११ की ममता पौडेललाई तथा ढकमाया खतिवडा स्मृति अक्षयकोष छात्रवृत्ति कक्षा १२ की बालकुमारी अधिकारी र कक्षा १२ कै सुजता विश्वकर्मालाई प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन लगायतका आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए । बाल दिवसको दिन विद्यार्थीहरूको क्षमता प्रस्तुत गराउन कार्यक्रम गर्ने गरिएको प्रधानाध्यापक सूर्यमान सेरेङले बताए । कार्यक्रममा शिक्षिका कोपिला खतिवडाको सञ्चालन र शिक्षक अभिभावक संघका अध्यक्ष निर्मला ढुङ्गानाको अध्यक्षता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्