ब्राउनसुगर सहित ४ जना पक्राउ


विराटनगर । सुन्दरहरैँचाका नेत्र विनोद भट्टराईसहित ४ जनालाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेको छ । मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट बिहीबार साँझ प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुन्दरहरैचा नगरपालिका–३ त्रिवेणी चोकमा लागुऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ वर्षीय नेत्र विनोद भट्टराईलाई पक्राउ गरेको छ । भट्टराईबाट ५१ ग्राम ६५ मिलिग्राम लागुऔषध ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद ७ हजार बरामद भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका–११ गिरी बन्धु टि–स्टेटको चिया बगानबाट सुनसरीको इटहरी–१७ का २६ वर्षीय भुवन गिरी र बाह्रदशी गाउँपालिका झापाका ३० वर्षीय सुशील तामाङ २१० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यसै गरी अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय विनोद प्रधानलाई १ ग्राम ८२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्