मेजर विमल पण्डितको शव भेरी नदीमा भेटियो


डोल्पा । भदौ ११ गतेदेखि हराइरहेका डोल्पा दुनैस्थित नन्दबक्स गुल्मका मेजर विमल पण्डितको शव मङ्गलवार भेरी नदीमा भेटिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको मृत शव भेटिएको हो ।

भेरीमा माछा मार्न जाल खेल्दै जाँदा मङ्गलवार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी–५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित भेरी किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए । दुइटा ढुङ्गाको खोल्सामा ठुलो ज्यान भएको बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा औँठी देखेपछि मेजरको शव हुन सक्ने भनेर चौकीमा खबर गरेको सार्कीले बताएका छन् । सार्कीले खबर गर्ने बित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको थियो ।

त्यसलगत्तै प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा एउटा टोली खटिएको थियो । उद्धार सामाग्रीसहित नेपाली सेनाका मेजर रवि शाहको टोली पनि चिण्ढेबगरमा पुगेको थियो । प्रनाउ बुढाथोकीको टोली पुगेको केही समयपछि रामवाण गुल्मका गुल्मपति ध्रुव कार्कीको टोली पनि पुगेर खोचमा रहेको शव बाहिर निकालेर पहिचान प्रयास गरेको थियो ।

घडी र औँठीबाट शव मेजरको पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिएका छन् । शव फेला परेको ठाउँबाटै प्रत्यक्षदर्शी लगायतका स्थानीय समेतको उपस्थितिमा मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा ल्याइँदै छ । शव पहिचानका लागि मेजर पण्डितका दाजु कुमार पण्डित समेत घटनास्थलमा पुगेका थिए । काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपराह्न ४ बजेदेखि बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्