सुवास नेम्वाङको निधन


काठमाडौँ । प्रतिनिधि सभा सदस्य, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको निधन भएको छ । बालुवाटारस्थित निवासमा मंगलबार राति करिब २ बजे हृदयाघातको कारण उनको निधन भएको हो । हृदयाघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको चिकित्सकले जानकारी दिएका छन् । नेम्वाङ संविधानसभा अध्यक्ष समेत हुन् । नेम्वाङको निधनको खबर पाएपछि राति नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली टिचिङ अस्पतालमा पुगेका छन् । नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए । गएको मङ्सिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

नेम्वाङ इलामबाट पाँच पटक विजयी भएका थिए । २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बनेका नेम्वाङ २०६३ सालमा पहिलो पटक सभामुख बनेका थिए । नेम्वाङ अन्तरिम संसद्मा समेत सभामुख थिए । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङ पटक–पटक मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्