प्रदेश १ को नाम किराँत नराखिए कडा आन्दोलनको चेतावनी

किराँत राई यायोक्खाको १४ जिल्लामा अभियान


मोरङ, २७ कात्तिक। प्रदेश १ को नाम किराँत नराखिए कडा आन्दोलन गर्ने भन्दै समुदायलाई सचेत गराउने उद्देश्यले मङ्गलवार देखि किराँत राई यायोक्खा केन्द्रीय समितिले प्रदेशको १४ जिल्लामा आन्तरिक तयारीको लागि अभियान सञ्चालन सुरु गरेको छ ।

यायोक्खाको किराँत प्रदेश अभियान उपसमितिको आयोजना र मोरङ जिल्लाको व्यवस्थापनमा बेलबारीबाट अभियानको उद्घाटन गरेको हो ।

आगामी मङ्सिर-पुसमा हुने प्रदेशको हिउँदे अधिवेशनमा नाम बारे बहस चल्ने सम्भावनालाई ख्याल गर्दै अभियान सुरु गरेको यायोक्खा केन्द्रीय उपाध्यक्ष तथा अभियानको संयोजक तिलकप्रसाद राईले बताए । प्रदेश तथा केन्द्रीय राजनीतिक र सरकार प्रमुखलाई यस अघिनै प्रशस्त जानकारी गराएको हुँदा प्रदेशको नाम किराँत हुनेमा आफूहरू विस्वास्थ्य रहेको राईले बताए ।

किराँत कुनै जाती नभएर इतिहास, सभ्यता, भूगोल र संस्कृतिको आधारमा साझा पहिचान किराँत हुनुपर्ने यायोक्खाले माग गर्दै आएको छ ।

पहिचानको आधारमा किराँत नाम नराखिए कम्तीमा पाँच लाख जनता निर्णायक आन्दोलनमा उतार्ने योजना रहेको अभियानको संयोजक राईले बताए । यस अघि यायोक्खाले २५ लाख हस्ताक्षर सङ्कलन गरी प्रदेश सरकार प्रमुख शेरधन राई र सभामुख प्रदिककुमार भण्डारीलाई बुझाएका थिए ।

मोरङबाट सुरु भएको अभियान प्रदेशको १४ वटै जिल्लामा सञ्चालन हुने यायोक्खा केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईले बताए । केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, सचिव अर्जुन जम्नेली राईले यायोक्खा केन्द्रीय समितिको क्रियाकलाप, भावी योजना र किराँत नामकरण बारे सम्भावना, चुनौती बारे बोलेका थिए । कार्यक्रममा प्रदेश १ मा आएर जुनसुकै पार्टीका नेताहरूलाई किराँत पहिचान विरुद्ध नबोल्न समेत चेतावनी दिएका छन् । भूमिमा आएर कितात साझा पहिचान विरुद्ध बोल्ने नेताहरूलाई सामाजिक नहिस्कार समेत हुनसक्ने वक्ताहरूको चेतावनी थियो ।

यायोक्खा मोरङ अध्यक्ष नरहाङ राईको सभापतित्वमा भएको उद्घाटन कार्यक्रम सचिव केदार राईको सञ्चालनमा केन्द्रीय सदस्य नागेसचन्द्र राई लगायतले बोलेका थिए । कार्यक्रममा जिल्ला, नगर, गाउँपालिका र वडाका पदाधिकारी सदस्यहरू करिब डेढ सयको सहभागिता रहेको थियो ।

जिल्लाको प्रशिक्षणपछि नगर, गाउँ र वडा वडामा किराँत प्रदेश अभियान चल्ने केन्द्रीय सचिव अर्जुन जम्नेली राईले बताए ।

अन्तरक्रियात्मक कार्यक्रममा अकिलमान राई, सुवासचन्द्र राई, जितुमान राई, प्रताप राई, डम्बर चाम्लिङ राई, भक्तराज राई, देवान राई लगायतले जिज्ञासा तथा सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्