काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधवार दिउँसो रिपोर्टस क्लबमा भएको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट घाइते भएको यादवलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । यादवमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ । प्रहरीका अनुसार बालाजु बस्ने नुवाकोटको विदुर नगरपालिका–७ का श्यामबाबु सापकोटालाई पक्राउ गरिएको हो । यादवको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
उनले रिस उठेपछि खुकुरी हानेको प्रहरीलाई बताएका छन् । सापकोटा पत्रकारकै भेषमा कार्यक्रममा पुगेको र साथमा खुकुरी लिएर गएको खुलेको छ । आफूलाई राजावादी बताउने सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार सापकोटा यादव रिपोर्टस क्लबमा बोल्दै गर्दा पत्रकारहरूसँगै बसेका थिए ।
यादव रिपोर्टस क्लबमा बोलिसकेपछि राप्रपाका महामन्त्री धवलशमशेर जबरासँग कुरा गर्दै बाहिरिने क्रममा पिछा गरिरहेका सापकोटाले टाउकोमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । करिब सवा १ बजेतिर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए ।
यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । ‘सापकोटा भित्र पत्रकारहरूसँगै बसेका रहेछन्, यादव बोलिसकेर बाहिरिने क्रममा पिछा गर्दै गएर खुकुरी प्रहार गरेको देखिन्छ’, काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुंगेलले भने ।