सुन्दरहरैँचा । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु, सुन्दरहरैँचा नगरपालिका वडा नं.१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ । आइतबार भएको निर्वाचनबाट क्याम्पस कमिटीको अध्यक्षमा योगेश दाहाल निर्वाचित भएका छन् ।
क्याम्पसको २४ औँ सम्मेलनबाट ५१ सदस्यीय कमिटी घोषणा गरे पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा आकाङ्क्षी हुँदा चयन हुन सकेको थिएन । अनेरास्ववियु मोरङ जिल्ला कमिटीका सहसचिव नवीन पहाडीका अनुसार कोषाध्यक्ष र सहसचिव भने सर्वसम्मत चयन भएको थियो ।
अध्यक्षमा दाहालले २९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी टिकाराम घिमिरेले १७ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा सन्नी शाहले ३४ मत र एलिशा गौतमले २७ मत ल्याएर निर्वाचित भए । दुई उपाध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा थिए ।
सचिवमा रेमन श्रेष्ठ २४ मत ल्याएर विजयी भए । उनले प्रतिद्वन्द्वी नवराज दाहाललाई २ मतले पछि पार्दै सचिवमा विजयी भएका हुन् । सम्मेलनले सहसचिव र कोषाध्यक्षमा भने सर्वसम्मत नेतृत्व चयन गरेको छ । सुयोग भण्डारी, गिरिस मिश्र, सन्जु भण्डारी र सुदिप लोहोरुङ्ग राई सहसचिव चयन हुँदा सुप्रिया सिराल कोषाध्यक्ष चयन भएकी हुन् ।