काठमाडौं । प्रहरीले पक्राउ गरेका काँग्रेस सांसद सुनिल शर्मामाथि शैक्षिक प्रमाणपत्र कृते गरेको आरोप लागेको छ । उनलाई आज (बिहीबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । उनलाई नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।
समाए एमबीबीसीएस अध्ययनका लागि चीन गएका थिए । तर, एमबीबीएस उत्तीर्ण नगरी नेपाल फर्केको बताइन्छ । उनको प्रवीणता तह (प्लस टु) को प्रमाणपत्र पनि कृते (नक्कली) रहेको आरोप छ । उनले भारतबाट प्रवीणता प्रमाणपत्र तह गरेका थिए । ‘उहाँ (सुनिल शर्मा) लाई शैक्षिक प्रमाणपत्र कृते गरेको पुरानै मुद्दामा पक्राउ गरिएको हो’, नेपाल प्रहरीको उच्च स्रोत भन्छ, ‘प्लस टु उत्तीर्ण गर्नका लागि नम्बर नपुग्दा उहाँ आफैँले थपेको पाइएको छ ।’
मोरङ क्षेत्र नम्बर ३ बाट २०७९ मङ्सिर ४ को निर्वाचनमा विजयी शर्मा काँग्रेसमा नेता डा. शेखर कोइराला निकट मानिन्छन् । यसअघि पनि उनको एमबीबीएसको प्रमाणपत्रमाथि प्रश्न उठेको थियो । त्यसो त शर्माले विराटनगरमा नोबेल मेडिकल कलेज सञ्चालनका क्रममा शेयर सदस्य ज्ञानेन्द्रबहादुर सिंह कार्कीमाथि कुटपिट गरी उनको शेयर हडपेको समेत आरोप लागेको छ । उक्त घटनामा माओवादी नेताहरूले पनि शर्मालाई साथ दिएका थिए । २०६५ सालमा तत्कालीन वाईसीएलले शर्माको इशारामा काठमाडौं आएका कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अपहरण गरेका थिए ।
शर्माले पछिल्ला दिनहरूमा सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री संलग्नता रहेको भन्दै तीव्र आलोचना गर्दै आएका थिए । बिमाको भुक्तानी नमिलाई दिएकाले शर्माले जेपायो, त्यही बोल्ने गरेको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका थिए । शर्माले गत साउन ३ गते त्रिभुवन विमानस्थल परिसरबाट बरामद १०० किलो सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाश शरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए ।
शर्माले गत साउन १० गते संसद् बैठकमै सुन तस्करीका मुख्य अभियुक्त नसमातिए आमरण अनशन बस्ने चेतावनी दिएका थिए । काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भनेका छन्, ‘केही दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआईबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो ? संसद् चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्वीकृति दिएका हुन् ? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन् ?’