बेलबारीमा डेँगुरोग विरुद्ध लामखुट्टेको लार्भा तथा अण्डा नष्ट गर्ने कार्य तीव्र : वडा नं.३ को टोल-टोलमा सुरु


बेलबारी । बेलबारीमा डेँगुरोग सङ्क्रमित सङ्ख्या बढ्दो भएसँगै डेँगुरोग सार्ने एडिज लामखुट्टेको लार्भा तथा अण्डा खोजी गरी नष्ट गर्ने कार्य तीव्र हुन थालेको छ । बेलबारीको वडा वडामा उक्त अभियान भइरहेको छ ।

बेलबारी वडा नं.३ को बिजुली मालपोत टोल विकास संस्थाले पनि डेँगुरोग विरुद्ध लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । डेँगु रोगको रोकथाम गर्ने उद्देश्यले टोल विकास संस्थाले लामखुट्टेको लार्भा तथा अण्डा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको हो ।

बेलबारीमा डेँगु रोगको जोखिम बढ्दो भएकोले रोग लागेर औषधी गर्नु भन्दा रोग लाग्न नदिने उद्देश्यले नष्ट गर्ने अभियान सुरु गरेको बिजुली मालपोत टोल विकास संस्थाका अध्यक्ष चूडामणि अधिकारी बताउँछन् । बिजुली मालपोत टोल विकास संस्थासँगै वडा नं.३ भित्रका अरू टोल विकास संस्थामा पनि यो अभियान सुचारु रहेको वडाध्यक्ष योगेन्द्र सुवेदीले जनाएका छन् ।

टोल विकास संस्थाको साथै कोशी प्रदेश नेपाल प्रहरी अस्पतालको सहयोगमा अभियान भइरहेको छ । वडाध्यक्ष सुवेदीले डेँगु रोगबाट जोगिन घर वरिपरि सरसफाइ, पानी जम्न नदिन साथै अनिवार्य लामखुट्टेबाट जोगाउने झुल प्रयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्