काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने र ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कार्य योजना प्रस्ताव गरेका छन् । आज (मङ्गलवार) देखि सुरु भएको काँग्रेस केन्द्रीय समितिको बैठकमा उनले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरेका हुन् ।
‘क्रियाशील सदस्यताको वितरण वर्षभरि नै गर्नेगरी यसका लागि जिल्ला कार्यसमितिलाई फारम पठाइसकिएको छ । अब इच्छुक साथीहरूले प्रक्रिया पुरा गरेर पार्टीको क्रियाशील सदस्यता लिन सक्नुहुने छ । कांग्रेसको क्रियाशील सदस्ता वितरण अनलाइनमार्फत् गर्ने कुरालाई हामीले शुरू गर्यौं । यसलाई प्रभावकारी बनाउने, संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आकर्षण र गर्न र समाजको विविधता झल्कनेगरी यो वर्षको साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घरघर जाऊँ पार्टी सदस्य बनाऊँ भन्ने अभियान चलाउन अन्तर्गत राष्ट्रिय अभियान शुरू हुनेछ,’ उनले भने, ‘५ लाखदेखि ७ लाख सदस्यता बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिने छ ।’
केन्द्रीय समिति बैठक अहिले जारी छ । आजको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् । केन्द्रीय समितिको बैठक करिब एक साता चल्ने छ ।