कोशी प्रदेश सरकार भंग गर्न एमालेको माग


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेश असंवैधानिक र लोकतान्त्रिक तथा संसदीय अभ्यासविपरित गठन गरिएको भन्दै तत्काल भंग गर्न माग गरेको छ । केन्द्रीय सचिवालयको आज (शनिवार) को बैठकले त्यस्तो माग गरेको हो ।

बैठकले सरकार भंग गरी नयाँ सरकार गठनका लागि संविधानसम्मत प्रक्रिया अघि बढाउन माग गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले ६ वटा प्रस्ताव पारित गरेको छ । ‘वर्तमान सत्ता गठबन्धन संविधानको उल्लङ्घन गर्ने, संवैधानिक संस्थाहरूमा हस्तक्षेप गर्ने, तिनीहरूलाई विवादित र निष्प्रभावी बनाउने र लोकतन्त्रलाई जगैदेखि खलबलाउने काममा उद्धत छ । कोशी प्रदेशसभामा सत्ता गठबन्धनबाट गरिएको संविधान विरोधी क्रियाकलाप यस शृङ्खलाको पछिल्लो कडीको रूपमा छ ।

नेपालको संविधानले सभामुख पदलाई निष्पक्ष र तटस्थ भूमिकामा रहेर व्यवस्थापिकाको नेतृत्व गर्ने संवैधानिक भूमिका तय गरेको छ । संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना गरेको छैन । त्यस कारण सभामुख दलीय आबद्धताबाट अलग हुने प्रचलन छ । अझ सरकार गठन गर्ने वा हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनको विश्वव्यापी मूल्य मान्यता एवं हाम्रो आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नाङ्गो प्रहार हो भन्ने कुरा स्वतः स्पष्ट छ ।

नेकपा एमाले सत्ता गठबन्धनका यस्ता असंवैधानिक कदमको भर्त्सना गर्दछ । असंवैधानिक ढङ्गले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्दछ ।’ एमालेले पारित गरेको प्रस्तावमा भनिएको छ ।

पारित ६ प्रस्ताव

 

 

प्रतिक्रिया दिनुहोस्