सिङ्गापुरका यातायातमन्त्री एस. ईश्वरन भ्रष्टाचार अभियोगमा पक्राउ


काठमाडौं । सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटेल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ ।

यातायात मन्त्री एस. ईश्वरनलाई गत मङ्गलवार पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोले शुक्रवार राति जारी गरेको वक्तव्यमा जनाइएको छ सिङ्गापुरका सबैभन्दा धनी व्यक्तिमध्येका एक ओङ बेङ सेङलाई पनि गत मङ्गलवार नै पक्राउ गरिएको थियो । निजलाई पनि अनुसन्धानपछि धरौटीमा छाडिएको छ । ब्युरोले अनुसन्धानको विवरण भने खुलाएको छैन ।

ओङ छानबिनमा परेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोले यातायात मन्त्रीमाथिको अनुसन्धानको दायरा फराकिलो बनाएको छ । विश्वको सबैभन्दा कम भ्रष्ट देशमध्येको एक सिङ्गापुर विश्वव्यापी वित्तीय केन्द्र हो । यो देशमा भ्रष्टाचार नियन्त्रणका लागि ‘क्याबिनेट’ मन्त्रीहरूलाई निजी क्षेत्रका ठुला आम्दानी गर्ने व्यक्तिको तुलनामा तलब दिइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्