तेह्रथुमको आठराईमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु : चार जना घाइते


तेह्रथुम । तेह्रथुमको आठराईमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । आठराई गाउँपालिका–२ खाम्लालुङ्गमा पहिरोले घर पुरिँदा ६३ वर्षीय देवीकुमार थलङको मृत्यु भएको हो ।

पहिरोले पुरेको स्थानबाट उद्धार गरेर उपचारका लागि पाँचथर अस्पताल ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । ८४ वर्षीय जसमाया खापुङ्ग, ६३ वर्षीय गणेश इस्वो, २८ वर्षीय राजेश थलङ र २५ वर्षीय करिना थलङ घाइते भएका छन् ।

घाइतेमध्ये गणेश इस्वो र राजेश थलङको जिल्ला अस्पताल पाँचथर फिदिम तथा राजेश र करिनाको प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्ति बजारमा उपचार भइरहेको छ । अविरल वर्षाका कारण शुक्रवार दिउँसो १२ बजे देव थलङको घर पहिरोले पुरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्