काठमाडौँ । नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’ का चर्चित गायक रोविन तामाङको निधन भएको छ । ६० वर्षीय उनको मंगलबार साँझ काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा निधन भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दान कार्कीले तामाङ घरमै मृत भेटिएको पुष्टि गरेका छन् । कार्कीका अनुसार तामाङको शव उनको दुई तले घरको बेडरूममै भेटिएको हो । तर उनको निधनको कारण खुलिसकेको छैन ।
रविनको निधन भएको पुष्टि उनकी दिदी भगवती तामाङले पनि गरेकी छन् । प्रहरी प्रभाग बुढानीलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार मंगलबार साँझ ६ बजे प्रहरी कन्ट्रोलमा फोन आएको थियो । रविनले फोन नउठाएको भन्दै प्रहरी कन्ट्रोलमा फोन आएपछि प्रहरी निरीक्षक चन्दसहितको टोली उनको घरमा पुगेको थियो । उनका अनुसार सुरुमा रविनलाई उनकी श्रीमतीले पटक–पटक फोन गरेकी थिइन् । उनी बाहिर गएर फर्किने बेलामा घरको गेट लगाइएको थियो । रविन दोस्रो तलामा बस्थे । उनकी श्रीमतीले बारम्बार फोन गर्दा र बोलाउँदा पनि रविनले कुनै प्रतिक्रिया दिएनन् ।