दुई पटक म्याद थप सकियो तर बनेन बाटो : ठेकेदार अटेरी, बेलबारीको कालोपत्रे सडक अलपत्र


बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा न.३ को दुई बाटो कालोपत्रे हैन, अलपत्र बनेको छ । वडा नं.३ मा रहेको कृषि मार्ग र भगवती मार्ग ठेकेदारले अलपत्र परेको हो ।

दुवै मार्ग २०७९ फागुन १५ गते मर्मत गरिसक्नु पर्ने थियो । तर दुई पटक म्याद थप गर्दा पनि अहिले सम्म काम अधुरो रहेको छ । नगरपालिकाका अनुसार मर्मतको ठेक्का जय भवानी निर्माण सेवाको हो । जय भवानी निर्माण सेवाले कृषि मार्ग, भगवती मार्गसँग बेलबारी २ को शुक्रपथ उत्तर, वडा नं.४ को जनमार्ग, वडा नं.११ को लक्ष्मी मार्ग सोह्र भाग कालोपत्रे सडक मर्मतको ठेक्का रु.७१ लाख १३ हजार ७ सय ३२ मा पाएको नगरपालिकाले जनाएको छ ।

जय भवानी निर्माण सेवाको प्रतिनिधि पथरी शनिश्चरे नगरपालिका निवासी पर्वत थापालाई बेलबारी नगरपालिका कार्यालयबाट बारम्बार सम्झौता अवधिभित्र काम सम्पन्न गर्न निर्देशन गर्दा पनि लापरबाही गरेको नगरपालिकाले जनाएको छ । जय भवानी निर्माण सेवाले कृषि मार्ग र भगवती मार्गसँगै वडा नं.४ को जनमार्गको पनि मर्मत कार्य अधुरो छाडेको छ । ठेकेदार थापालाई बारम्बार फोन गर्दा पनि सम्पर्कमा नआएको वडा नं.४ का वडाध्यक्ष चन्द्र बहादुर लिम्बु बताउँछन् । उनी भन्छन्, “कस्तो अटेरी ठेकेदार फोन गर्दा पनि सम्पर्कमा आउँदैन, बाटो अलपत्र छोडेको छ । अब कालो सुचीमा राख्न कार्यपालिका बैठकमा माग राख्ने छु ।”

भगवती मार्गका स्थानीय महेन्द्र सुवेदीले जीर्ण अवस्थामा रहेको बाटो अविलम्ब मर्मत गर्न आग्रह गर्दै जय भवानी निर्माण सेवालाई कालो सुचीमा राख्न माग गरेका छन् । सुवेदीले भने, ‘म्याद पथ गर्दा पनि बाटो बन्दैन भने ठेक्का लिने कम्पनीलाई कालो सुचीमा राख्न नगरपालिकालाई आग्रह गर्दछु ।’ स्थानीय युवा नीरज सुवेदी भन्छन्, ‘यो ठेकेदार अटेरी छ, कालो सुचीमा राख्न नगरपालिकालाई ध्यानाकर्षण गराउन चाहन्छु ।’ ठेकेदारलाई आक्रोश पोख्दा बाटोमा मिसगिडी छरेर, अलि अलि पेलेर आँखामा छारो हान्ने काम गरेको नीरज बताउँछन् ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले जय भवानी निर्माण सेवाको लापरबाहीको परिणाम कारबाही गर्ने बताएका छन् । आवश्यक परे कम्पनी र ठेकेदारलाई नै कालो सुचीमा राख्न सक्ने नगर प्रमुख राईले बताए । बेलबारी नगरपालिकाको विकासमा अवरोध गर्ने र हानी गर्ने जोसुकै भए पनि छुन नपाउने राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्