बेलबारी । राष्ट्रिय युवा संघ नेपाल, बेलबारी नगर कमिटीले प्रेस विज्ञप्ति सार्वजनिक गरेर सिर्जना सामुदायिक वनको विवाद समाधानको लागि ध्यानाकर्षण गरेको छ । बेलबारी नगरपालिका वडा नं १० मा रहेको सिर्जना सामुदायिक वनमा देखिएको काठ वितरण सम्बन्धी अनियमितताको आरोपको सत्य तथ्य छानबिन तथा आर्थिक रकम हिनामिना र निर्वाचन सम्पन्न पश्चात् देखिएको विवाद समाधान गर्न ध्यानाकर्षण गराउँदै विज्ञप्ति सार्वजनिक गरेको हो ।
वडा नं. १० मा रहेको सिर्जना सामुदायिक वनमा उपभोक्तालाई काठ वितरण गर्ने क्रममा व्यापक चलखेल भएको र वास्तविक उपभोक्ताहरूले आफ्नो अधिकार बापतको काठ नपाएर वनका अध्यक्ष सहितका अन्य पदाधिकारीहरूले आफू खुसी काठको दुरुपयोग गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीले सिङ्गो बेलबारीका जनता, राजनीतिक पार्टी एवम् संघ संस्थालाई लज्जाबोध गराएकोले, उजुरी अनुसार कोही व्यक्ति दोषी ठहरिएमा नेपालको प्रचलित कानुन अनुसार कारबाही गर्न प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बेतना सिमसार सामुदायिक वनको साधारण १२ वर्ष सम्म नभएको जनाउँदै चाँडो गर्न पनि माग राखेका छन्। सम्बन्धित निकायको ध्यानाकर्षण नभए थप ध्यानाकर्षण गर्न साथै सशक्त आन्दोलन गर्ने राष्ट्रिय युवा संघ नेपाल, बेलबारी नगर कमिटीका अध्यक्ष काशीराज तामाङले बताए ।