काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ। परिषद्ले शुक्रवार एक प्रेस विज्ञप्ति निकालेर देशभरका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।
परिषद्ले आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको हो।
परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको विभिन्न सेवा सुविधा सहित पेसागत स्थायित्वको माग राख्दै आएको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्न लागिएको परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए।
‘गत जेठ १७ को पत्रकार सम्मेलनबाट घोषित आन्दोलनका कार्यक्रमहरूमध्ये पहिलो र दोस्रो चरणका कार्यक्रमहरू सम्पन्न हुँदा समेत सरकार आन्दोलनप्रति गम्भीर हुनुको सट्टा प्रहरी दमन प्रयोग गर्न उद्धृत देखिएकाले पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्न मातहतका समितिहरूलाई निर्देशन गरिएको छ।’ विज्ञप्तिमा भनिएको छ।