अशोक थुलुङको ‘जोडी चिण्डो’ सम्मको यात्रा


दक्षिण कोरिया । अशोक थुलुङ राई भन्छन्, ‘बाच्नलाई बिदेसिए पनि जीउनलाई गाउने गर्छु । गीत सङ्गीत मेरो जीवन हो ।’ सङ्गीतलाई जीवन ठान्ने गायक अशोक थुलुङ राई यती बेला दक्षिण कोरिया वैदेशिक रोजगारमा छन् । गायक अशोक थुलुङ राई दक्षिण कोरियामा २०६४ साल देखि बस्दै आएका हुन ।

२०५९ साल देखी २०६२ सालसम्म सङ्गीतको औपचारिक शिक्षा लिएर सुरु गरेको साङ्गीतिक यात्रा निरन्तर गाइरहेका छन् । अशोकले कोरियाबाट नेपाल छुटी आउने साथ एउटा गीत सार्वजनिक गरेरै छाड्छन् । एक महिना अगाडी सार्वजनिक भएको अशोकको ‘जोडी चिण्डो’ बोलको गीतले राम्रै चर्चा पाएको छ । साकेला लयमा एलिसा र एलिस राईको अभिनयमा सार्वजनिक भएको अशोकको म्युजिक भिडियोलाई श्रोता तथा दर्शकले रुचाएका छन् । राई समुदायको संस्कृतिलाई झल्काउने गरी म्युजिक भिडियोमा एलिसा र एलिसको जोडिलाई प्रस्तुत गरिएको छ ।

‘जोडी चिण्डो’ गीतको शब्द रचना अगम बिकारलले गरेका हुन । किरण चाम्लिङ राईको निर्देशनमा बनेको म्युजिक भिडियोको छायाङ्कन भूपेन्द्र लिम्बुले गरेका छन् भने गीतको कम्पोज दिनेश वान्तवाले गरेका हुन । विदेशी भूमिमा अधिक व्यस्त हुने अशोकलाई फुर्सद मिल्योकी गीत गाउन र लेख्न बसिहाल्ने उनको स्वभाव रहेको उनका भाइ अमर राई बताउँछन् । उनले आफ्नै रचना, सङ्गीत र स्वरमा पहिलो पटक ‘जाली रुमाल’ बोलको गीत २०५७ सालमा सार्वजनिक गरेका थिए ।

जाली रुमालसँगै उनले २०५९ सालमा ‘अनुभव’ र २०६७ मा ‘फिलिङ’ नामक सोलो एल्बम सार्वजनिक गरेका थिए । ‘अङ्गालोमा बाध मलाई’, ‘गुन्द्रुक किनेमा’, ‘जुनेली’, ‘जोडी चिण्डो’ लगायत दर्जनौँ गीत उनले गाइसकेका छन् । दक्षिण कोरियामा ‘रोयल ईन्डियन’ रेस्टुरेन्टका सञ्चालक अशोकको घर नेपालमा मोरङको केराबारी गाउँपालिका वडा नं.९ स्थित कुसुमेमा रहेको छ । अशोकले पुनः अर्को नयाँ गीत एक वर्ष भित्र सार्वजनिक गर्ने जनाएका छन् । गीतहरूले सोचे जस्तो चर्चा नपाए पनि नेपाली गीत सङ्गीतमा साधना गर्ने अशोक एक असल साधक हुन ।

प्रतिक्रिया दिनुहोस्