सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा मङ्गलवार जिल्ला युवा समिति मोरङ र सुन्दरहरैँचा नगरपालिकाको संयुक्त आयोजनामा चार दिने नमुना युवा नगर सभा उद्घाटन भएको छ । सुन्दरहरैँचा नगरपालिका स्थित त्रिवेणी रिर्सोटमा मङ्गलवार एक समारोहको बिच कोशी प्रदेशसभाको उप सभामुख सृजना दनुवारले उद्घाटन गर्नु भएको छ ।
कार्यक्रमको उद्घाटनमा बोल्दै उप सभामुख दनुवारले युवाहरूलाई कानुन निर्माणको नीतिगत ज्ञान प्रदान गर्ने बताउनु भयो, उहाँले कार्यक्रममा बोल्दै युवाहरूलाई राजनीतिमा आकर्षण गर्न सशक्तीकरण यस्तो कार्यक्रमले सहयोग हुने बताउनु भयो । नमुना युवा नगर सभा जिल्ला युवा समितिको समन्वयमा गत वर्षबाट सुन्दरहरैचामा वार्षिक रूपमा आयोजना हुँदै आएको छ ।
युवालाई देशको संविधान नियम कानुन, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि हरेक वर्ष नमुना युवा संसद् गठन गर्ने गरेको जिल्ला युवा समिति मोरङका अध्यक्ष सन्तोष घिमिरेले बताएका छन् । युवालाई नगर सभाको निर्णय प्रक्रिया र कार्यको ज्ञान दिई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका नमुना नगर युवा सभा कार्यक्रम भइरहेको छ । यसबाट युवालाई नेतृत्व विकास गर्न सहयोग पुगेको छ । स्थानीय तहका वडामा वडा स्तरीय युवा क्लब गठन गरिएको छ ।
नमुना नगर सभामा पालिका १२ वटा वडाबाट ४५ जना सहभागी भएका छन् । सहभागीहरूलाई चार दिन सम्म नगर सभाबाट कानुन निर्माण, नगर सभाको संसदीय अभ्यास र यसका प्रक्रियाहरू, स्थानीय तहमा बजेट निर्माणका प्रक्रियाहरू र स्थानीय सरकारमा युवाहरूको अर्थपूर्ण सहभागीताका बारेमा प्रशिक्षण हुने प्रशिक्षक सरोज ढकालले बताए ।