बेलबारीको ७ सामुदायिक वन मध्य अमना सिसौली कमजोर : सिंहदेवी उत्कृष्ट


बेलबारी । सव डिभिजन वन कार्यालय, बेलबारी अन्तरगतको ७ सामुदायिक वन मध्य अमना सिसैली उपभोक्ता समितिको कार्य सम्पादन सबै भन्दा कमजोर पाइएको छ । सव डिभिजन वन कार्यालय, बेलबारीको अनुगमनबाट अमना सिसैली उपभोक्ता समितिको कार्य सम्पादन कमजोर देखिएको हो ।

सव डिभिजन वन कार्यालय, बेलबारीले आफ्नो मातहतमा रहेका सामुदायिक बनहरूमा यस आर्थिक वर्ष वन उपभोक्ता समिति र पत्रकारसहित सामूहिक रूपमा ६ सामुदायिक वनको अनुगमन गरेको थियो । सव डिभिजन वन कार्यालय, बेलबारीका प्रमुख दीपेश मिश्रका अनुसार अनुगमन भएको वन मध्य अमना सिसौली वन उपभोक्ता समितिको कार्य सम्पादन भने सबै भन्दा कमजोर देखिएको छ ।

सिंहदेवी सामुदायिक वन, देवीथान सामुदायिक वन, बेतना सिमसार, लक्ष्मी सामुदायिक वन, नक्सल सामुदायिक वन र अमना सिसैली सामुदायिक वनको अनुगमन तथा अवलोकन गरेको थियो । तर सिर्जना सामुदायिक वनको भने अनुगमन बाकी रहेको छ ।

(सिंहदेवी सामुदायिक वन – बिरुवा संरक्षणको लागि घेरा बेरा गर्दै)

अनुगमन गरिएकोमा वन संरक्षण तथा विकास साथै कार्यालय व्यवस्थापनमा पनि अन्य वन भन्दा तुलनात्मक रूपमा अमना सिसौली कमजोर देखियो । सबै वन उपभोक्ता समितिको आफ्नै कार्यालय भवन छ तर अझै पनि अमना सिसौली वन उपभोक्ता समितिको कार्यालय भाडाको कोठा र अध्यक्ष लीला आचार्यको झोलामा सीमित रहेको छ ।

वन विकास तथा संरक्षणको लागि काठ निकाससँगै कति बिरुवा रोप्नुभयो भन्ने प्रश्न गर्दा अलमल्ल पर्ने अध्यक्ष आचार्यले, तुलनातक रूपमा तत्काल कमजोर देखिए पनि आफ्नै कार्यकालमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रतिबद्धता गरेका छन । कार्यालय भवन पनि निर्माण गरेरै छाड्ने प्रतिबद्धता गरेका छन । “काम गरीस भन्दा गरे” भने जस्तो मात्र देखिएको अमना सिसौली वन उपभोक्ता समितिको कार्य सम्पादन सुधार गर्न अनिवार्य छ । झन् अमना सिसौली वन उपभोक्ता समितिलाई आर्थिक अपारदर्शीको आरोप लागिरहने गर्छ ।

(देवीथान सामुदायिक वनको कार्यालय भवन)

सव डिभिजन वन कार्यालय, बेलबारीका प्रमुख मिश्रका अनुसार वन, सामुदायिक र संस्थागत विकासलाई तुलना गर्दा, अनुगमन गरीको ६ वन मध्य सिंहदेवी सामुदायिक वन उपभोक्ता समितिको कार्य सम्पादन उत्कृष्ट रहेको छ । सामुदायिक वन उपभोक्ता समितिलाई लाग्ने प्रमुख आरोप आर्थिक अपारदर्शिता हो । तर सिंहदेवी सामुदायिक वन उपभोक्ता समितिले वन विकास तथा संरक्षणसँगै आर्थिक कारोबार पारदर्शी गर्ने गरेको अध्यक्ष सम्मर बहादुर तामाङ बताउँछन् ।

अनुगमन गरिएको केही सामुदायिक वन उपभोक्ता समितिलाई आर्थिक अपारदर्शिताको आरोप लाग्ने गरेता पनि देवीथान सामुदायिक वन, बेतना सिमसार, लक्ष्मी सामुदायिक वन, नक्सल सामुदायिक वनको वन, सामुदायिक र संस्थागत विकास क्रमशः राम्रै रहेको सव डिभिजन वन कार्यालय, बेलबारीका प्रमुख बताउँछन् । सव डिभिजन वन कार्यालय, बेलबारीको मातहतमा रहेको सामुदायिक बनहरूमा सव डिभिजन वन कार्यालय, बेलबारीले सामूहिक अनुगमन वर्षमा २ पटक गर्ने मिश्रले जनाएका छन ।

(नक्सल सामुदायिक वनको निमार्णधिन कार्यालय भवन)

(लक्ष्मी सामुदायिक वन – बिरुवा संरक्षणको लागि घेरा बेरा)

प्रतिक्रिया दिनुहोस्