७ वर्षकी एन्जल मृत्युसँग लड्दै छिन : एन्जल बचाउ अभियानद्वारा आर्थिक सहयोगको अपिल


बेलबारी । बेलबारी नगरपालिका वडा नं.२ लालाभित्ती कबिर टोल निवासी वर्ष ७ की एन्जल धिमाल मृत्युसँग लडिरहेकी छिन । उनको मुहार हेर्दा सामान्य बालबालिका जस्तै स्वास्थ्य अवस्था देखिए पनि भित्री शरीर झृण भइसकेको छ ।

वीरेन्द्र धिमाल र कुमारी श्रेष्ठ धिमालकी छोरी एन्जल जन्मदेखिनै कलेजो रोगको समस्याबाट ग्रसित थिइन । अहिले पूर्ण रूपमा कलेजोले काम गर्न नसक्ने भइसकेको एन्जलकी आमा कुमारी बताउँछिन् । नेपालमा उपचार सम्भव नभए पछि भारतको हरियाणा स्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ । तर अब उपचार गर्न पनि धिमाल परिवार आर्थिक सङ्कटमा छ ।

कुमारीका अनुसार एन्जलको कलेजो प्रत्यारोपण छिटै गर्नै पर्ने डाक्टरको परामर्श रहेको छ । एन्जलको उपचारमा अहिलेसम्म २० लाख भन्दा बढी खर्च भइसकेको कुमारी बताउँछिन् । कुमारी छोरीलाई कलेजो दान गर्न तयार छिन । तर आर्थिक अभाव छ । हाल श्रीमान् वीरेन्द्र धिमाल मलेसियामा मजदुरी गरिरहेका छन् ।

कुमारी भन्छिन्, “६ लाख ऋण छ, डाक्टरले छोरीको पूर्ण उपचार खर्च करिब ४० लाख लाग्ने बताएको छ । आर्थिक स्थिति नाजुक छ । यत्रो पैसा कहाँबाट ल्याउनु । तर छोरीलाई मैले जसरी पनि बचाउनु छ । मेरो छोरी बचाउन सबैले आर्थिक सहयोग गर्नुहोस् म कलेजो छोरीलाई दिन तयार छु । सबैलाई सहयोगको लागि अनुरोध गर्दछु । ”

कुमारीको गुहार सुनेर नै अहिले स्थानीयहरूले एन्जल बचाउ अभियान सुरु गरेको छ । एन्जल बचाउ अभियान समितिका संयोजक वडा अध्यक्ष कृष्ण गुरुङ रहेका छन् । उनको नेतृत्वमा सहयोगको अपिल तथा उपचारार्थ सहयोग रकम सङ्कलन कार्य भइरहेको छ । अध्यक्ष गुरुङले केही आर्थिक सहयोगहरू प्राप्त हुन थालेको छ जानकारी गराउँदै इच्छुक सबैलाई एन्जलको उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।

बेलबारी ३ मा रहेको गुरुकुल पाठशालाका प्रधानाध्यापक कुमार खुलालले १ लाख उपचारार्थ रकम सहयोग गर्ने, प्रतिबद्धता गरेको गुरुङले बताए । सहयोगको लागि एन्जल धिमाल बचाउ अभियानको बेलबारी शाखाको एक्सेल डेभलपमेन्ट बैंक खाता नं.०४००० २००२० ७२३३० ००००१ मा रकम पठाउन सकिने गुरुङले जनाकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्