अरनिको हस्पिटल नवौँ वर्षमा सिटी स्क्यान र आइसियु सेवा सञ्चालनमा आउने


उर्लाबारी । उर्लाबारीस्थित अरनिको हस्पिटल प्रालिले आफ्नो नवौँ वार्षिकोत्सव समारोह विविध कार्यक्रम गर्दै मनाएको छ । २०७१ साल जेठ १५ गतेबाट सञ्चालनमा आएको हस्पिटलले सोमबार जेठ १५ कै अवसर पारेर वार्षिकोत्सव मनाएको हो ।

रक्तदान आयोजना, बिरामीको उपचार र औषधीमा विशेष छुटका साथै हस्पिटल परिसरमै अपराह्न विशेष समारोह आयोजना गरिएको थियो । बर्थडे केक काटेर सेलिब्रेशन गरिएको समारोहमा १५ जना कर्मचारीलाई कार्यकुशलताका आधारमा पुरस्कृत गरिएको थियो । यस्तै, रेडक्रस उर्लाबारी उप शाखालाई पनि कार्यक्रममा सम्मानपत्र प्रदान गरिएको थियो ।

रेडक्रस उर्लाबारीको प्राविधिक सहयोग रहेको रक्तदानमार्फत ४३ प्रिन्ट रगत सङ्कलन गरिएको थियो । कार्यक्रममा हस्पिटलका अध्यक्ष लोलिम पोमु लिम्बूले बिरामीहरूलाई अत्याधुनिक सेवा र सुविधा प्रदान गर्न अरनिको हस्पिटल सफल हुनुमा कार्यरत चिकित्सक एवं कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले निकट दिनमै अरनिको हस्पिटलले ६ शैय्याको आइसियु सेवा र सिटी स्क्यान मेसिनबाट पूर्णकालीन सेना सुरु हुने जानकारी दिनुभयो । अरनिको हस्पिटलले अधिकांश विधामा फुलटाइम चिकित्सकसहित सेवाको दायरा बढाउँदै लगेको पनि अध्यक्ष लिम्बूले उल्लेख गर्नुभयो ।

यस्तै, हस्पिटलका सल्लाहकार समिति संयोजक आइन्बा लिम्बूले अरनिको हस्पिटलको आरोह अवरोह, हालको अवस्था र आगामी दिनमा जनहितमा पुर्याउने योगदानका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा रेडक्रस उर्लाबारीका सभापति भानुभक्त शर्मा पराजुली, चिकित्सक सन्दीप अधिकारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन रिपुराज भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्