उर्लाबारीको डुम्रेमा अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने


उर्लाबारी । ग्रासरुटदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले उर्लाबारी २ स्थित डुम्रेको खेल मैदानमा नगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक हरियाली बाल क्लबले मंगलबार पत्रकार सम्मेलन गरी यही जेठ १५ गतेदेखि सुरु हुने प्रतियोगिताको विषयमा जानकारी दिएको हो ।

प्रतियोगितामा उर्लाबारीका सामुदायिक र निजी गरी १३ वटा विद्यालयहरूको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सक्षम भण्डारी ‘महेश’ले जानकारी दिए । उनका अनुसार जेठ २२ गते फाइनल खेल हुने छ । फाइनलअघि भेट्रान खेलाडीहरूको ‘च्यारिटी म्याच’ खेलाइने छ । कक्षा १० सम्मका विद्यार्थीहरूले प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगितामा विजेता र उपविजेता लाई क्रमशः नगद दश हजार, ६ हजार तथा शिल्ड, प्रमाण पत्र र पदक प्रदान गरिने जनाइएको छ ।

फुटबल खेलको नगर प्रमुख गंगाप्रसाद खरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष भण्डारीले जनाए । क्लबले दोस्रो संस्करणका लागि खेल आयोजना गर्ने भएको हो । प्रतियोगिताका लागि स्थानीय सरकार, संघ संस्था र विभिन्न दाताहरूको सहयोग रहने क्लबका सचिव विशाल भण्डारीले बताए । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सक्षम भण्डारी, उपाध्यक्ष कैलाश श्रेष्ठ, सचिव विशाल भण्डारी, सहसचिव यामकुमार बस्नेत, सल्लाहकारद्वय दिवस भण्डारी, गौरव कार्कीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्