विराटनगरका ३२ वर्षीय एक व्यापारीमाथि चक्कु प्रहार


विराटनगर । मोरङको विराटनगरमा आज (बिहीबार) दिनदहाडै एक व्यापारीमाथि चक्कु प्रहार भएको छ । विराटनगर महानगरपालिका–१५ का ३२ वर्षीय राहुलकुमार रायमाथि चक्कु प्रहार भएको हो ।

रायलाई विराटनगर–१० ट्राफिक चोक नजिक दिउँसो ३ः२० बजेतिर चक्कु हानिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न विराटनगर–१२ का २८ वर्षीय दीपेन्द्र कामतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । घटनापछि भाग्दै गरेका कामत चक्कुसहित समातिएका हुन् ।

कोशी अस्पतालमा उपचार हुन नसकेपछि घाइते रायलाई थप उपचारका लागि विराट नर्सिङ होममा ल्याइएको छ । राय र कामतबिचको विवाद थाहा हुन बाँकी रहेको डीएसपी दाहालले बताए । यद्यपि, आफूमाथि छुरा प्रहार गर्ने कामतलाई यसअघि नचिनेको रायले बताएका छन् ।

राय अदुवा र लसुनको होलसेल व्यापार गर्छन् । बैंकमा पैसा जम्मा गर्न आएका बेला आफूमाथि कामतले चक्कु हानेको उनले बताएका छन् । ‘म बैंकमा पुग्दा त्यहाँभित्र उनी (कामत) विवाद गर्दै रहेछन् । बैंकबाट बाहिर निस्किसकेपछि मसँग पनि विवाद गर्न थाले,’ उनले प्रहरीलाई भने, ‘त्यत्तिकैमा ममाथि चक्कु प्रहार भयो । ती व्यक्तिको मसँग चिनजान थिएन ।’ उनका अनुसार अनुहार ताकेर चक्कु प्रहार गरिएको थियो ।

अनुहारलाई जोगाउन छेक्ने क्रममा चक्कुले काटेर रायको देब्रे हातमा गहिरो चोट लागेको छ । प्रहरीका अनुसार देब्रे हातको हत्केला, दुईवटा औँला र नाडीमा चोट छ । अवस्था खतरामुक्त रहेको अस्पताललाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्