नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको खाँणको दाबी


काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।
म्याद थपका लागि अदालत लगिएका बेला सरकारी वकिल कार्यालयबाट निस्किने क्रममा उनले यस्तो संक्षिप्त प्रतिक्रिया दिएका हुन् । काँग्रेस नेता खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा बिना कारण प्रहरीले आफूलाई पक्राउ गरेको जिकिर गरे ।

शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणलाई आइतबार प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । खाँणलाई बुधवार प्रहरीले राजधानीको मैजुबहालबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्