काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतबाट आइतबार १२ जनाको थप चार दिन अनुसन्धानका लागि म्याद थप भएको हो ।
अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन् । सोही प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको पनि प्रहरीले खोजी गरिरहेको छ । हाल उनी फरार छन् । उनका छोरा सन्दीप भने प्रहरीको हिरासतमा छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँण गत वैशाख २७ गते आफ्नै घरबाट पक्राउ परेका थिए । उनी गृहमन्त्री भएका बेला गृहसचिव रहेका हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि खाँण पनि अनुसन्धानमा तानिएका हुन् ।