नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जो सुकै होस छोडिँदैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जो सुकै भए पनि नछोड्ने बताएका छन् । आज (बुधवार) सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सोही अनुसार प्रहरी प्रशासनलाई निर्देशित गरेको साथै निष्पक्ष ढङ्गले अनुसन्धान प्रक्रिया अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्‍याउन प्रहरी प्रशासन लागिपरेको बताएका छन् ।

उनले भने, ‘अहिले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने र त्यसको सन्दर्भमा सङ्गठित ढङ्गले ठगी धन्दा भयो त्यसको सन्दर्भमा हामीले अनुसन्धानको प्रक्रिया अघि बढाएका छौँ । अनुसन्धानले आधार तयार पार्ने हदसम्म विभिन्न व्यक्तिहरू थप अनुसन्धानका लागि तानिनु भएको छ । यसलाई निष्कर्षमा पुर्‍याउन हामी लागिपरेका छौँ ।’

आजको प्रमुख ३ दलका नेताहरूको बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयक, शान्ति प्रक्रियाका बारेमा छलफल भएको र सो छलफलमा आफू सहभागी नभएको मन्त्री श्रेष्ठले बताए । यस्तै मन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन तथा सुशासन कायम गर्न भ्रष्टाचारको नियन्त्रणलाई सरकारले मूल प्राथमिकतामा राखेको बताएका छन् । आज गृह मन्त्रालयमा नेपाली काँग्रेसका नेताहरूसँगको भेटघाटका क्रममा उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखेर काम गरेको र यस कार्यमा संलग्नहरूलाई पूर्वाग्रह नराखी काम गर्ने बताएका छन् ।

नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगीमा संलग्न भएका जो कोहीलाई कारबाही हुने उनले स्पष्ट पारे । गृहमन्त्रीसँगको भेटमा काँग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध उनले चालेको कदमको प्रशंसा गरेका थिए । नक्कली शरणार्थीसम्बन्धी यो पछिल्लो अनियमितताको अझै अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याएर तार्किक निष्कर्षमा पुर्‍याउन समेत नेताहरूले अनुरोध गरेका थिए । काँग्रेसका नेताहरू गुरुराज घिमिरे, मधु आचार्य, रञ्जित कर्ण, भूपेन्द्रजङ शाही, नरेश यादव, डा. गोविन्द पोखरेललगायत आज अपराह्न गृह मन्त्रालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्