चितवन २ मा रास्पाका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी


चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन् । आज (मङ्गलवार) सार्वजनिक अन्तिम परिणामअनुसार लामिछाने ५४ हजार १७५ मतसहित विजयी भएका हुन् । दोस्रो नम्बरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ छन् । उनले ११ हजार ११४ मत ल्याएका छन्। रवि र जीत बिचको मतान्तर नै ४३ हजार ६१ रहेको छ ।

तेस्रो नम्बरमा समेटिएका नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३४ मत ल्याएका छन् । रविले विजयी हुने क्रममा मङ्सिरमा पाएको मतभन्दा ५ हजार धेरै मत ल्याएर आफ्नै रेकर्ड तोडेका छन् । यसअघि ४ मङ्सिरको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी ४९ हजार २ सय ६४ मत ल्याएर विजयी भएका थिए ।

तर नागरिकता मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गत माघ १३ गते गुमेको थियो। त्यही कारण चितवन २ मा यही वैशाख १० गते उपनिर्वाचन गरिएको हो । रविले मतान्तरमा पनि रेकर्ड बनाएका छन् । उनले ४३ हजार ६१ मतको फराकिलो अन्तरसहित जित आफ्नो पक्षमा पारेका हुन् । मङ्सिरको निर्वाचनमा उनले काँग्रेस–एमाले उम्मेदवारसँग १९ हजार ६ सय ३४ मतान्तर बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्