दुई करोड ३३ लाख बराबरको लागू औषधसहित दुई विदेशी नागरिक पक्राउ


काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले लागू औषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ गरेको छ । आज बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ब्युरोले लागू औषध कोकिन १ केजी ८० ग्रामसहित भारतीय नागरिक रवीन्द्र कुमार र केन्याका नागरिक पिलिसिया वाञ्जालाई पक्राउ गरेको जनाएको हो ।

काठमाडौं वडा नम्बर १७ ठमेलमा रहेको एक होटेलमा रहेका भारतीय नागरिकको साथमा रहेको कालो रङको कपडाको झोलाभित्र लागू औषध कोकिन फेला परेको र घटनाको थप अनुसन्धान गर्दा इथोपियाबाट काठमाडौँसम्म ल्याई भारतीय नागरिकलाई कोकिन दिने केन्याका नागरिकलाई एक हजार अमेरिकी डलरसहित अर्को होटेलबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

बरामद लागु औषध कोकिनको अन्दाजी अवैध बजार मूल्य दुई करोड ३३ लाख रहेको उनले बताए । काठमाडौं जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्