रास्वपाका सभापति रवि लामिछानेले वैशाख १० को चुनाव हार्ने महेश बस्नेतको दाबी


काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वैशाख १० को चुनाव हार्ने दाबी गरेका छन् ।

उनले लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर–२ का जनताले निर्वाचनमा हराउने जिकिर गरे । आज (शनिवार) काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले लामिछानेले मयूरको प्वाँख धारण गरेर जनतालाई झुक्क्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको बताए ।

नेता बस्नेतले युवा र लोकप्रिय भएकाले चितवन–२ मा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढी रहेको पनि दाबी गरे । उनले त्यहाँ एमाले र काङ्ग्रेसबिच प्रतिस्पर्धा हुने बताए ।

‘चितवन–२ का जनताले, यो नक्कली राष्ट्रवाद, यो अवसरवादी चरित्र, यो पब्लिक कम्जवसन्सनका लागि गरिने कुराहरूबाट चितवन–२ मुक्त हुन्छ । त्यहाँ नेकपा (एमाले) र काङ्ग्रेसबिच प्रतिस्पर्धा हुन्छ । र रविजी त्यसलाई पछ्याउनु हुन्छ’, उनले थपे, ‘सम्भव हिजो कृष्णभक्त पोखरेलले राम्रो काम गरेको हुनाले र आज रामप्रसाद न्यौपाने एउटा नयाँ युवाहरूको बिचमा पपुलर व्यक्ति हामीले उठाएका छौँ । त्यसअनुसार युवाहरूलाई राजनीतिमा ल्याउनुपर्छ भन्ने मान्यता पनि छ । उहाँको सम्भावना निकै बलियो छ, कमजोर छैन भन्ने मलाई लाग्दछ । चितवनका जनताले रविजीलाई जिताउँदैनन् ।’ नेता बस्नेतले सरकारको काम–कारबाही देश र जनताको हितमा नरहेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्